स्थानीय तह निर्वाचन : जसपाको टिकट मन्त्री यादवले आफ्नो कब्जामा राखेको आरोप

जनकपुरधाम, १० बैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ता हुन लागेको छ । निर्वाचन आयोगले उम्मेदवारलाई आइतबार र सोमबार मनोनयन दर्ता गर्ने समय दिएको हो ।
विभिन्न राजनीतिक दलहरुले आ–आफ्नो उम्मेदवारको टुंगो लगाइरहेका बेला गठबन्धन भित्रको दल जनता समाजवादी पार्टी नेपालको भागमा परेको उम्मेदवारको टिकट भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आफ्नो कब्जामा राखेको आरोप लागेको छ ।
मनोनयन दर्ताको पूर्व सन्ध्यामा भने मन्त्री यादवले उम्मेदवारको टिकट आफ्नो कब्जामा राखेको आरोप लागेको हो ।
जसपा केन्द्रीय समितिले पार्टीको कार्यकारिणी सदस्य समेत रहेकी मन्त्री यादव मार्फत प्रदेश कमिटीलाई टिकट हस्तान्तरण गर्न पठाएपनि यादवले महोत्तरीको बर्दिवासस्थित एक होटलमा पर्सा जिल्लाको टिकट वितरण गरेको प्रदेश समिति सदस्य मनोज देवले जानकारी दिए ।
उनले भने, ‘मन्त्री यादवले प्रदेश र जिल्ला समिति पर्सालाई कुनै जानकारी नै नदिई आफूखुशी टिकट वितरण गरेकी हुन् । यादवले सप्तरी जिल्लाको स्थानीय तहको टिकट पनि आफूले चाहेको व्यक्तिलाई मात्र मिल्नुपर्ने भन्दै प्रदेश समितिलाई हस्तान्तरण गर्न मानेकी छैनन् ।’
जसपा मधेस प्रदेश समितिका मुख्य सचिव दिनेश यादवले मन्त्री यादवले अहिलेसम्म प्रदेश समितिको जिम्मामा टिकट नदिएको बताए ।मन्त्री यादवको गतिविधिले पार्टीका आस्थावान कार्यकर्तालाई पाखा लगाउने प्रवृति देखिएको उनको आरोप छ ।
टिकट वितरणमा प्रदेश समितिको अधिकारमाथि मन्त्री यादवले हस्ताक्षेप गरेको भन्दै जसपाका प्रदेश समिति र जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुले सामूहिक राजीनामा दिने तयारी गरेको स्रोतले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


