एजेन्सी, १० बैशाख । पूर्वअमेरिकी बक्सर माइक टाइसनले विमानभित्रै एक यात्रुलाई मुक्का प्रहार गरेको भिडियो भाइरल भएको छ ।

पूर्वहेभिवेट बक्सर टाइसनले सँगै विमानमा यात्रा गरिरहेका नजिकैका यात्रुले ‘पानीको बोतलले हानेपछि’ उनलाई मुक्का प्रहार गरेको टाइसनका प्रवक्ताले बताएका छन् ।

विमानमा लिइएको भिडियोमा टाइसनले आफ्नो सिटमा अडेस लागेर बसिरहेका एक जना पहिचान नखुलेका व्यक्तिलाई निरन्तर मुक्का हानिरहेको देखाइएको छ ।

हल अफ फेमबाट सम्मानित बक्सरका प्रवक्ताले ‘आफूलाई दुर्व्यवहार गरिरहेका एक यात्रु’ माथि टाइसनले त्यस्तो प्रतिक्रिया जनाएको उल्लेख गरेका छन् ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गरेको थियो । तीमध्ये एक जनाको सान फ्रान्सिस्को विमानस्थलमा नै उपचार भएको छ ।

‘ती व्यक्तिले घटनाबारे थोरै मात्र बाउँदै प्रहरी अनुसन्धानमा सहयोग गर्न अस्वीकार गरेका गरे,’ सान फ्रान्सिस्को प्रहरी विभागकी प्रवक्ताले विज्ञप्तिमा भनेकी छन् ।

थप अनुसन्धान जारी रहँदा दुवैलाई रिहा गरिएको छ । प्रहरीले त्यसमा संलग्न व्यक्तिहरूको परिचय भने खुलाएका छैन ।

जेटब्ल्यूको विमानभित्र उक्त घटना भएको हो । सो विमान सान फ्रान्सिस्कोबाट फ्लोरिडातर्फ जान लागेको थियो ।

टिएमजेडका अनुसार उडानको सुरुवातमा ती यात्रुसँग तस्बिर खिचाउन टाइसनले सहमति जनाएका थिए तर टाइसनले शान्त रहन भन्दाभन्दै पनि ती व्यक्तिले उनलाई दुर्व्यवहार गरिरहे ।

भिडियोमा अर्का यात्रुले शान्त बनाउने प्रयासमा टाइसनलाई नामले बोलाएको सुनिन्छ तर एक व्यक्तिले उनलाई धकेल्ने प्रयास गरेको देखिन्छ । त्यसपछि ती व्यक्तिको निधारमा रगत लागेको जस्तो देखिन्छ ।