काठमाडौं, १० बैशाख । शहीद स्मारक ‘सी’ डिभिजन लिगमा मनोहरा युनाइटेड युथ क्लबले विजयी शुरुवात गरेको छ ।

मनोहराले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको आफ्नो पहिलो खेलमा वीरगञ्ज युथ एकेडेमीलाई ४–० ले पराजित हराउँदै सानदार सुरुवात गरेको हो ।

खेलको सातौं मिनटमा सुजन बलम्पकी मगरले मनोहरालाई अग्रता दिलाएका थिए । २१ औं मिनटमा अजयकुमार चौधरीले गोल गरेपछि मनोहरा पहिलो हाफमा २–० ले अघि बढ्यो ।

५६ औं मिनटमा आशिष श्रेष्ठले गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए । ७० औं मिनटमा कप्तान विनय खड्काले गोल गरेपछि मनोहराले ४–० को सहज जित निकाल्यो ।

यो जितसँगै मनोहराले तीन अंक जोड्दा पराजित वीरगन्जले भने हारबाट प्रतियोगिताको शुरुवात गरेको छ ।

जारी लिगमा १४ टोली सहभागी छन् । जसमध्ये शीर्ष दुई टोली दोस्रो डिभिजनमा बढुवा हुँदा पुछारका दुई टोली भने घटुवा हुनेछन् ।