नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गर्ने सरकारको निर्णय

काठमाडौं, ९ बैशाख । सरकारले नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गर्ने निर्णय गरेको छ ।
सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले आसन्न नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी खेल समावेश गर्ने निर्णय गरेको हो ।
बैठकले नवौं राष्ट्रिय खेलकुदमा भलिबल, फुटबल, क्रिकेट, कराते, तेक्वान्दो, उसु, बास्केटबल, एथलेटिक्स, भारत्तोलन, ब्याडमिन्टन, टेबल टेनिस, हक्की, बक्सिङ, लन टेनिस, जिम्नास्टीक, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, कबड्डी, शारीरिक सुगठन,बुद्धिचाल, खो खो, सुटिङ ,फुल कन्ट्याक कराते, आइटिएफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ,ट्रायथलन, प्याराग्लाइडिङलाई समावेश गर्ने निर्णय गरेको छ ।
ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा नवौंमा राष्ट्रिय खेलकुदमा समावेश गरिने भएको छ । प्रतियोगिता गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म सञ्चालन हुनेछ । राखेपको बोर्ड बैठकले प्रतियोगिता सञ्चालनका लागि आवश्यक निर्देशिका समेत पारित गरेको छ ।
करिब तीन वर्षपछि बसेको राखेपको बोर्ड बैठकले संघ संस्थाको निर्देशिका पारित गर्नेदेखि जापानमा भएको ओलम्पिकमा सहभागी हुँदाको खर्च पारित गर्नेसम्मको निर्णय गरेको हो । त्यस्तै, बैठकले एसियन गेम्समा नेपालले २३ खेलमा सहभागिता जनाउन निर्णय पनि गरेको छ ।
सेप्टेम्बर १० देखि २५ सम्म चीनमा हुने १९ औं संस्करणको एसियन गेम्समा नेपालले महिला फुटबल, पुरुष क्रिकेट, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, बास्केटबल, तेक्वान्दो, आर्चरी, कराते, पौडी, भारत्तोलन, फेन्सिङ, ट्रायथलन, महिला कबड्डी, जुडो, गल्फ, कुस्ती, उसु, महिला ह्याण्डबल, सुटिङ, ब्याडमिन्टन, टेबल टेनिस र महिला भलिबलमा सहभागिता जनाउने भएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


