काठमाडौं, ९ बैशाख । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ ।

पहिलो दिन आज अनिर्वाय अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार एसईईमा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी भएका छन् । जसमध्ये २ लाख ५७ हजार ९ सय २७ छात्र र २ लाख ५७ हजार ५३ छात्रा छन् ।

नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ जना सहभागी छन् भने प्राविधिक तर्फ मुलुकभरका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी एसईईमा सहभागी छन् ।

बोर्डले एसईईका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तोकेको छ । कोभिड–१९ महामारीका कारण अघिल्लो दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले ग्रेडसिट जारी गरेको थियो ।

कोरोना महामारीका कारण २ वर्षदेखि आन्तरिक मूल्यांकनबाटै सम्पन्न गरिएको एसईई यसवर्ष भौतिक परीक्षार्थीको भौतिक उपस्थितिमै सुरु भएको हो ।

एसइई परीक्षाको नतिजा आगामी साउनअघि नै प्रकाशन गर्ने बोर्डको योजना छ ।