काठमाडौं, ९ बैशाख । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा आरसी–३२ फुटबल एकेडेमी (रारा रेन्जर्स) ले विजयी शुरुवात गरेको छ ।

आरसी–३२ ले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न दोस्रो खेलमा खालिबारी युथ फुटबल क्लबलाई १–० ले पराजित गरेको हो ।

खेलको ३८ औं मिनेटमा आशिष लावतीले गरेको एक मात्र गोल आरसी–३२ लाई जित दिलाउन पर्याप्त बन्यो ।

जितसँगै आरसी–३२ ले तीन अंक जोड्दा खालिबारीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । लिगको उद्घाटन खेलमा महावीर क्लबले स्पोर्टस एकेडेमी साँगालाई २–१ ले पराजित गरेको थियो ।

आजदेखि सुरु भएको लिगमा १४ टोली सहभागी छन् । जसमध्ये शीर्ष दुई टोली दोस्रो डिभिजनमा बढुवा हुँदा पुछारका दुई टोली भने घटुवा हुनेछन् ।