जनकपुरधाम, ९ बैशाख । मधेस प्रदेश सरकारका कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादवले नगरप्रमुखमा चुनाव लड्न पदबाट राजीनामा दिन लागेका छन् ।

नेकपा एकीकृत समाजवादीको तर्फबाट सिरहा नगरपालिकाको नगरप्रमुखमा लड्न उनले मन्त्री पदबाट राजीनामा दिन लागेका हुन् ।

नेकपा एकीकृत समाजवादीले सिरहा नगरपालिकाको नगरप्रमुखका लागि मन्त्री यादवको एकल नाम सिफारिस गरेपछि उनी सो पदमा लड्न राजी भएका छन् । उनले आजै राजीनामा बुझाउन लागेका छन् ।

उनले भने, ‘पार्टीले मलाई नगरप्रमुखमा चुनाव लड्नुपर्ने निर्णय गरेपछि मन्त्री पद छाड्न तयार छु ।’

मन्त्री यादवले सिरहा नगरपालिकाका जनताको चाहना पनि प्रमोद यादव मेयरमा आओस् भन्ने रहेको र यस विषयमा आफूले त्यहाँका मतदातासँग पनि संवाद गरेको बताए । सबैले नगरपालिकाको नेतृत्व सम्हाल्न भनिरहेकोले आफू यस्तो निर्णयमा पुग्न बाध्य भएको उनले बताए ।

सिरहा नगरपालिकामा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र गठबन्धन गर्न तयार छन् । एकीकृत समाजवादीले मेयरमा यादवलाई अघि सारेको छ ।

यादव २०७४ सालको प्रदेशसभा निर्वाचनमा नेकपा एमालेबाट प्रदेश सभामा सिरहा क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित भएका थिए ।

यादवले गत मंसिर ५ गते मधेस प्रदेश सरकारको कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।