जनकपुरधाम, ९ बैशाख । सत्तारुढ गठबन्धनको बैठकले जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्व गर्ने जिम्मा जनता समाजवादी पार्टी नेपाललाई दिने निर्णय गरेसँगै नेपाली कांग्रेसभित्र विद्रोह सुरु भएको छ ।

जसपाले जनकपुरधाममा नगरप्रमुख र नेपाली कांग्रेसले उपप्रमुखको उम्मेदवारी दिने गठबन्धनको सहमतिपश्चात कांग्रेसका सयौँ असन्तुष्ट नेता–कार्यकर्ताहरूले आज सामूहिक राजीनामा दिएका छन् ।

गठबन्धनमा कांग्रेसलाई जनकपुरधामको मेयर नपरेपछि यहाँका स्थानीय नेता तथा कार्यकर्ताहरू विरोधमा उत्रिएका छन् ।

नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिकाका नगरसभापति मनोजकुमार साहलगायतका नेताहरू पत्रकार सम्मेलनको आयोजना गरी सामूहिक राजीनामा दिएका छन् ।

नगरसभापति साहले पार्टीको साधारण सदस्य समेत नरहनेगरि पदबाट राजिनामा दिँदै मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

साहसहित नगर सचिव लालबाबु मिश्र, कोषाध्यक्ष विरेन्द्र यादव, वडा नं. १५ का सभापति नन्दलाल साहसहित साढे दुई सय सक्रिय सदस्यले राजिनामा दिएको उनले जानकारी दिएका हुन् ।

पार्टीलाई २४ घण्टे अल्टिमेटम दिएको समय पुगेपछि पार्टीको साधारण सदस्यसमेत नरहने गरी साहसहित सयौँको संख्यामा नेता–कार्यकर्ताहरू राजीनामा दिएका हुन् ।

जनकपुरधाम उपमहानगरको २५ वटै वडाका सभापतिको सल्लाहमा आफूले स्वतन्त्र उम्मेदवारी घोषणा गरेको उनले जानकारी दिए । काँग्रेसको भागमा परेको १० वटा वडामा पनि स्वतन्त्र उम्मेदवारी पर्ने उनले बताए ।

जनकपुरमा काँग्रेस एक्लैले जित्न सक्ने अवस्था रहेको ठाउँमा गठबन्धन गरेर सभापति शेरबहादुर देउवाले ठूलो गल्ती गरेको उनले आक्रोश पोखे । उनले जनकपुरधाममा काँग्रेस बलियो हुँदाहुँदै पनि पार्टीलाई सिध्याउन सभापति देउवाले यस्तो निर्णय लिएको आरोपसमेत लगाए ।

गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धन नमान्ने पार्टी कार्यकर्तालाई कारबाही हुने धम्की दिएकाले साधारण सदस्य समेत पदबाट राजिनामा दिएर उम्मेदवारी घोषणा गरेको उनले बताए ।

आसन्न स्थानीय तह निर्वाचनका लागि सत्तारूढ दलहरूबीच महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरमा सहमति जुटाएसँगै असन्तुष्टिका स्वर बाहिर आउन थालेका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकबाट ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको भागबण्डा मिलाएसँगै जनकपुरधाममा विरोधका स्वर सुनिन थालिएको हो ।

भागबण्डाका आधारमा जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टी नेपालको भागमा परेको छ ।

०७४ सालको निर्वाचनमा जनकपुरधाममा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट लालकिशोर साह २१ हजार ९०३ मत ल्याएर निर्वाचित भएका थिए ।

साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार मनोज साहले ११ हजार १६४ मत प्राप्त गरेका थिए ।