मनोज साहलगायत कांग्रेसका असन्तुष्ट नेता कार्यकर्ताहरू सामूहिक राजीनामा दिँदै

जनकपुरधाम, ९ बैशाख । सत्तारुढ गठबन्धनको बैठकले जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्व गर्ने जिम्मा जनता समाजवादी पार्टी नेपाललाई दिने निर्णय भएसँगै नेपाली कांग्रेसका नेता कार्यकर्ताहरू असन्तुष्ट बनेका छन् ।
जसपाले जनकपुरधाममा नगरप्रमुख र नेपाली कांग्रेसले उपप्रमुखको उम्मेदवारी दिने गठबन्धनको सहमति पश्चात कांग्रेसका केही असन्तुष्ट नेता कार्यकर्ताहरू आज सामूहिक राजीनामा दिन लागेका हुन् ।
गठबन्धनमा कांग्रेसलाई जनकपुरधामको मेयर नपरेपछि यहाँका स्थानीय नेता तथा कार्यकर्ताहरू विरोधमा उत्रिएका छन् ।
नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिकाका नगरसभापति मनोजकुमार साहलगायतका नेताहरू अहिले केहीबेरमा पत्रकार सम्मेलनको आयोजना गरी सामूहिक राजीनामा दिन लागेका छन् ।
पार्टीलाई २४ घण्टे अल्टिमेटम दिएको समय पुगेपछि पार्टीको साधारण सदस्य समेत नरहने गरी साहसहित दर्जनौँको संख्यामा नेता कार्यकर्ताहरु राजीनामा दिन लागेका हुन् ।
आसन्न स्थानीय तह निर्वाचनका लागि सत्तारूढ दलहरुबीच महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरमा सहमति जुटाएसँगै असन्तुष्टिका स्वर बाहिर आउन थालेका छन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकबाट ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको भागबण्डा मिलाएसँगै जनकपुरधाममा विरोधका स्वर सुनिन थालिएको हो ।
भागबण्डाका आधारमा जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टी नेपालको भागमा परेको छ । जनकपुरधाम जसपालाई दिने निर्णय गरेसँगै नेपाली कांग्रेसका कार्यकर्ता आक्रोशित बनेका छन् ।
०७४ सालको निर्वाचनमा जनकपुरधाममा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट लालकिशोर साह २१ हजार ९०३ मत ल्याएर निर्वाचित भएका थिए । साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार मनोज साहले ११ हजार १६४ मत प्राप्त गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


