पोलार्डले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

एजेन्सी, ८ बैशाख । वेस्ट इण्डिज क्रिकेट टोलीका कप्तान किरण पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
वेस्ट इण्डिजको सीमित ओभर क्रिकेटका कप्तान पोलार्डले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् ।
उनले सोचविचार गरेर नै सन्यास लिने निर्णयमा पुगेको पनि उल्लेख गरेका छन् । ३४ वर्षीय पोलार्डले वेस्ट इडिजका लागि १२३ एकदिवसीय र १०१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले टेस्ट क्रिकेट भने खेल्न पाएनन् ।
पोलार्डले एकदिवसीय अन्तर्राष्ट्रियमा तीन शतक र १३ अर्धशतकसहित २ हजार ७०६ रन बनाउँदा ५५ विकेट हात पारेका छन् । उनले टी–२० अन्तर्राष्ट्रियमा ६ अर्धशतकसहित १ हजार ५६९ रन बनाउनुका साथै ४२ विकेट लिएका छन् ।
सन् २००७ मा दक्षिण अफ्रिकाविरुद्धको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका पोलार्डले २०२२ मा भारतविरुद्ध अन्तिम खेल खेलेका थिए ।
उनले सन् २००८ मा अस्ट्रेलियाविरुद्वको खेलबाट टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । उनले अन्तिमपटक यही वर्ष भारतविरुद्ध खेलेका थिए । सन् २०१२ को टी–२० विश्वकप जित्दा पोलार्ड वेस्ट इण्डिज टोलीमा थिए ।
उनले ६१ खेलमा वेस्ट इण्डिजको कप्तानी गरेका थिए । पोलार्ड हाल मुम्बई इण्डियन्सबाट इण्डियन प्रिमियर लिग (आइपिएल) खेलिरहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


