काठमाडौं, ८ बैशाख । सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सातवटै प्रदेशमा चुनावी सभा आयोजना गर्ने भएको छ ।

स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको सत्तारुढ पाँच दलले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको हो ।

रामचन्द्र पौडेल संयोजकत्वको गठबन्धनका दलहरूको आन्तरिक तयारी र निर्वाचन अनुगमन संयन्त्रको बिहीबार बसेको बैठकले सातवटै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको हो । बैठकले १८ देखि २२ वैशाखसम्म सातै प्रदेशमा सभा गर्ने निर्णय गरेको छ ।

संयन्त्रका सदस्य सचिव अधिवक्ता केशवराज जोशीले चुनावी सभाको तालिका पनि सार्वजनिक गरेका छन् । तालिका अनुसार १८ वैशाखमा धनगढी र सुर्खेत, १९ वैशाखमा बुटवल र पोखरा, २० वैशाखमा विराटनगर र जनकपुरधाम तथा २२ वैशाखमा काठमाडौंमा चुनावी सभा हुनेछ ।

चुनावी सभालाई कांग्रेस पौडेलसहित, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।