धनुषामा आजदेखि टाइफाइडविरुद्धको खोप अभियान सुरु

जनकपुरधाम, ८ बैशाख । धनुषामा आजदेखि टाइफाइड रोग विरुद्धको खोप अभियान सुरु भएको छ ।
आजदेखि बैशाख १६ गतेसम्म यस जिल्लाका १८ वटै स्थानीय तहमा टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन भएको हो ।
धनुषामा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय धनुषाले जानकारी दिएको छ ।जसअन्तर्गत जिल्लाका २ लाख ९६ हजार ७७५ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउन लागिएको छ ।
स्वास्थ्य कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख युगलकिशोर यादवले खोपबाट बचाउन सकिने रोगहरूलाई शून्यमा झार्ने नेपाल सरकारको लक्ष्य अनुसार यस जिल्लामा पनि टाइफाइड विरुद्ध खोप अभियान सञ्चालन गरिएको जानकारी दिए । पूर्ण खोपको सुनिश्चितता गर्न र खोप कभरेज ९५ प्रतिशत पुर्याउन जिल्लामा अभियानकै रूपमा खोप दिन थालिएको उनले बताए ।
उनले भने, ‘टाइफाइड दूषित पानी र खानेकुराबाटै संक्रमण हुने रोग हो । चैत र वैशाखमा धुलो धुवाँ बढ्ने, गर्मीले खानेकुरा पनि सफा नहुने भएकोल रोग फैलिने जोखिम हुन्छ । बेलैमा सचेत रहन तथा टाइफाइडबाट बालबालिकालाई खोप अभियान चलाइएको हो ।’
उनका अनुसार खोपबाट कोही बालबालिका नछुट्ने गरी जिल्लाका सबै वडास्तरसम्मका विद्यालयमा पनि खोप टोली परिचालन गरिएको छ । धनुषामा १५ महिनादेखि ४ वर्षसम्मका ४३ हजार ९९६ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ७४ हजार १९७ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने छ ।
स्वास्थ्य कार्यालयका अनुसार धनुषा जिल्लामा निजी र सामुदायिक गरी ७६२ विद्यालयहरु सञ्चालनमा रहेका छन् । जिल्लाभरिमा १ हजार ६२ खोप केन्द्रमार्फत खोप अभियान सञ्चालन गरिएको छ भने २ हजार १२४ जना स्वयंसेवक परिचालन गरिएका छन् । त्यस्तै, २१५ वटा खोप टिम खटाइएको छ भने १६८ जना स्थानीय सुपरभाइजरसमेत खटेका छन् ।
सरकारी तथ्यांकमा पछिल्लो पाँच वर्षको अवधिमा नेपालमा ४ लाख ५० हजार बालबालिका टाइफाइड रोगका कारण बिरामी परेका छन् । बालबालिकालाई जोखिमबाट जोगाउन नेपालका ७५ लाख डोज टाइफाइड विरुद्धको खोप लगाउन लागिएको हो ।
जिल्लाका सबै बालबालिकालाई खोप सेवामा सहभागी गराउन वडा तहसम्म खोप समन्वय समिति गठन गरिएको कार्यालय प्रमुख यादवले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


