काठमाडौं, ७ बैशाख । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले मधेस प्रदेशमा नेपाली कांग्रेसलाई सिध्याउने खेल भएको बताएका छन् ।

आसन्न स्थानीय तह निर्वाचनका लागि सत्तारूढ गठबन्धनले गरेको महानगर र उपमहानगरको भागबण्डप्रति आपत्ति जनाउँदै निधिले यस्तो बताएका हुन् ।

‘मधेस प्रदेश जसपालाई सुम्पिनेगरी सहमति भएको छ। यो यस प्रदेशमा कांग्रेसलाई सिध्याउने षडयन्त्र हो,’ निधिले भने ।

उनले गठबन्धनको यस्तो निर्णयले आगामी चुनावमा देशभर कांग्रेसलाई कमजोर बनाउने जिकिर गरे ।

निधिले महानगरपालिका र उपमहानगरपालिकामा गरिएको बाँडफाँड केन्द्रीय समितिको निर्णयविपरित रहेको बताए ।

‘केन्द्रीय समितिले औचित्य र आवश्यकताको आधारमा तालमेल गर्ने निर्णय गरेको हो,’ उनले भने,‘केन्द्रीय समितिको निर्णयविपरित बाँडफाँड गर्ने काम भएको छ। देशभरका साथीहरूको भावनाविपरित छ।’

निधिले महानगर र उपमहानगरको बाँडफाँडका लागि भएको निर्णय आत्मघाती रहेको जिकिर गरे ।

उनले यस्तो आत्मघाती निर्णय नसच्याए भोलिको दिनमा कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने उल्लेख गरे ।

‘यो आत्मघाती निर्णय हो, निर्णय नसच्चाए कांग्रेसले निकट भविष्यमा ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ,’ अब के गर्नुहुन्छ प्रश्नको जवाफमा उनले भने,‘साथीहरूसँग छलफल भइरहेको छ। साथीहरूसँगको छलफलपछि उठाउनुुपर्ने कदमबारे निर्णय हुन्छ।’