चीनको सांघाइमा कोरोना संक्रमणबाट बुधबार थप ७ जनाको मृत्यु

एजेन्सी, ७ बैशाख । चीनको सांघाइमा कोरोना संक्रमणबाट बुधबार थप ७ जनाको मृत्यु भएको छ । योसँगै सांघाइमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
यसअघि सांघाइमा कोभिडबाट सोमबार तीन र मंगलबार सातजनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य आयोगले जनाएको थियो ।
तीव्र रूपमा फैलिएको ओमिक्रोन भाइरसका कारण साढे दुई करोड जनसंख्या भएको सांघाइमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । महामारीसँग जुध्न सरकारले कडा प्रतिबन्ध र सामूहिक परीक्षणको दायर बढाएको छ ।
पछिल्लोपटक मृत्यु भएका सातै जना दीर्घरोगी भएको बताइएको छ । अधिकारीहरूका अनुसार उनीहरू फोक्सोको क्यान्सर र सुगरबाट पनि पीडित थिए । मृत्यु भएकामध्ये ५ जना ७० वर्षमाथिका रहेका बताइएको छ ।
‘अस्पताल भर्ना भएपछि बिरामीहरू गम्भीर अवस्थामा पुगेका थिए । निष्प्रभावी उद्धार प्रयत्नपछि उनीहरूको मृत्यु भयो । मृत्युको मुख्य कारण दीर्घकालीन रोग हो’, सांघाई सरकारले एक विज्ञप्तिमा भनेको छ ।
यसैबीच, सांघाइमा बुधबार थप १८ हजार नयाँ संक्रमित भेटिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


