जनकपुरधाम, ७ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि सत्तारूढ दलहरुबीच महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरमा सहमति जुटाएसँगै असन्तुष्टिका स्वरहरु बाहिर आउन थालेका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकबाट ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको भागबण्डा मिलाएसँगै जनकपुरधाममा विरोधका स्वरहरु सुनिन थालिएको छ । भागबण्डाको आधारमा जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टी नेपालको भागमा परेको छ ।

जनकपुरधाम जसपालाई दिने निर्णय गरेसँगै नेपाली कांग्रेसका कार्यकर्ताहरु आक्रोशित बनेका छन् । केन्द्रीय गठबन्धनको निर्णयलाई आफूहरुले नमान्ने नेपाली कांग्रेस जनकपुरधामका नगरसभापति मनोज साहले बताए ।

उनले भने, ‘गठबन्धनको यो निर्णय नेपाली कांग्रेसलाई आघात पुर्याउने हिसाबले गरिएको हो । निर्णयको हामी घोर भत्र्सना गर्दछौं ।’

नगरसभापति साहले यस निर्णयबिरुद्ध कडा बिरोध गर्ने चेतावनीसमेत दिएका छन् । साहले केन्द्रीय गठबन्धनको यस्तो निर्णयले कांग्रेसी कार्यकर्ताहरुको मनमा आघात पुगेको बताए । उनले यो निर्णय बिरुद्ध वडा समिति, नगर समिति र क्षेत्रीय समितिहरु आक्रोशित बनेको बताए ।

उनले जिल्लामा उपलब्ध शिर्ष नेताहरुसँग बिहीबार छलफल गरेर आगामी रणनीति तय गरी गठबन्धनको बिरोधमा उत्रने चेतावनी दिएका छन् ।

साहले जसपाबाट उठ्ने उम्मेदवार भ्रष्टाचारी रहेको र भ्रष्टाचारीलाई आफूहरुलाई भोट नदिने बताए । उनले जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसको आफ्नै उम्मेदवार हुने र मेयर पद आफूहरुले कुनै पनि हालतमा नछोड्ने दाबी गरे ।

नगर सभापति साहले आफू मेयर पदको निर्विकल्प उम्मेदवार रहेकोसमेत बताए ।

कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले केन्द्रमा गठबन्धन गर्ने निर्णय स्वीकार गर्नुपर्ने बाध्यता रहेपनि स्थानीय कार्यकर्ताहरुको आक्रोशप्रति आफ्नो सहमति रहेको बताए ।

२०७४ सालको निर्वाचनमा जनकपुरधाममा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट लालकिशोर साह २१ हजार ९०३ मत ल्याएर निर्वाचित भएका थिए । साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार मनोज साहले ११ हजार १६४ मत प्राप्त गरेका थिए ।