काठमाडौं, ७ बैशाख । मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो ।

राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि भिडन्तमा आर्मीले एपिएफलाई ४०–१६ ले हरायो । कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले नगद एक लाख ५० हजार पुरस्कार पाएको छ ।

उपविजेता एपिएफले नगद ८० हजारमा चित्त बुझाएको छ । सेमिफाइनल पुगेका दुई टोली सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले तेस्रो स्थान प्राप्त गरेका छन् । दुवै टोलीले ४०/४० हजार रुपैयाँ प्राप्त गरेका छन् ।