जनकपुरधाम, ६ बैशाख । बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा मधेस प्रदेशका अधिकांश मतदान स्थलहरू ‘अति संवेदनशील’ सूचीमा रहेका छन् ।

जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले मतदान स्थलहरूलाई तीन तहमा वर्गीकरण गरेको हो ।

मधेस प्रदेशमा १ हजार ६३ मतदान स्थललाई अति संवेदनशील सूचीमा समावेश गरिएको छ भने संवेदनशील मतदान स्थल ८८८ वटा रहेका छन् । त्यस्तै, सामान्य मतदान स्थलको संख्या २१२ रहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सप्तरीमा २०८, सिरहामा १७०, धनुषामा १८३, महोत्तरीमा ११०, सर्लाहीमा १०३, रौतहटमा ८३, बारामा ६२ र पर्सामा ६२ वटा मतदान स्थल अति संवेदनशिल मानिएका छन् ।

त्यस्तै सप्तरीमा ८५, सिरहामा ४६, धनुषामा ११६, महोत्तरीमा १४५, सर्लाहीमा १८४, रौतहटमा ११९, बारामा १०८ र पर्सामा ८५ वटा मतदान स्थललाई संवेदनशिल सूचीमा राखिएको छ ।

सप्तरीमा ४, सिरहामा ५, धनुषामा २४, महोत्तरीमा ३, सर्लाहीमा ३१, रौतहटमा ७४, बारामा ५१ र पर्सामा २० वटा मतदान स्थल सामान्य सूचीमा रहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

विगतको चुनावमा निर्वाचन विथोलिएको र झडपसमेत भएको मतदान स्थलहरुलाई सुरक्षा निकायले अति संवेदनशील सूचीमा राखेको छ ।

मधेस प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) उमेश रञ्जितकारले विगतमा भन्दा अहिले सुरक्षा चुनौती बढि रहेको बताए । उनले अहिले विप्लव नेतृत्वको नेकपा, जनमत पार्टी र स–साना समूहका कारण सुरक्षा थ्रेट रहेको बताए ।

खुलासिमानाका कारण स–साना हातहतियारले सुरक्षा चुनौती रहेको बताउँदै उनले यसका लागि सो क्षेत्रहरुमा निर्वाचनको ७२ घण्टा अघिदेखि नै पूर्णरुपले आवतजावत बन्द रहने जानकारी दिए । उनले प्रदेशका सबै जिल्लाहरुमा प्रहरीले सतर्कतापूर्वक काम गरिरहेको बताए ।

विप्लव नेतृत्वको नेकपाको गतिविधि र खुला सिमानाबाट हतियार ओसारपसार हुँदा आउन सक्ने सुरक्षा चुनौतीका कारण मधेसका धेरै मतदान स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ ।

सत्ता गठबन्धन र विपक्षी दलसँग हुन सक्ने सम्भावित झडपलाई ‘थ्रेट’को रूपमा विश्लेषण गरिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय तह निर्वाचनका लागि मधेस प्रदेशमा ३३ लाख ३१ हजार १७० जना मतदाता कायम भएका छन् ।

यस प्रदेशमा १७ लाख ९७ हजार ९४५ पुरुष, १५ लाख ३३ हजार १५८ महिला र अन्य ६६ गरी कूल ३३ लाख ३१ हजार १७० जना मतदाताले मतदान गर्न पाउने भएका छन् ।

प्रदेशभरि २ हजार १६३ मतदानस्थल कायम गरिएको छ भने ४ हजार १८९ मतदान केन्द्र निर्धारण गरिएको प्रादेशिक निर्वाचन कार्यालयका अधिकारी श्रीधर पन्तले जानकारी दिए ।

सप्तरीमा २९७ मतदानस्थल र ५३६ मतदान केन्द्र, सिरहामा २२१ मतदानस्थल र ४९८ मतदान केन्द्र, धनुषामा ३२३ मतदानस्थल र ५९३ मतदान केन्द्र, महोत्तरीमा २५८ मतदानस्थल र ४९७ मतदान केन्द्र निर्धारण गरिएको छ ।

त्यस्तै, सर्लाहीमा ३१८ मतदानस्थल र ५९९ मतदान केन्द्र, रौतहटमा २७६ मतदानस्थल र ५१८ मतदान केन्द्र, बारामा ३०३ मतदानस्थल र ५४१ मतदान केन्द्र तथा पर्सामा १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ ।