जनकपुरधाम, ५ बैशाख । डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टीले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

सोमबार जनकपुरधामस्थित पार्टी कार्यालयमा बसेको जनमतको सचिवालय बैठकबाट उम्मेदवारको टुंगो लगाएको हो ।

जनमत पार्टीका केन्द्रिय महासचिव चन्दन सिंहले ३० जिल्लाबाट आएका पार्टीका नेताहरुले पालिकाका लागि उम्मेदवार टुंगो लगाएको जानकारी दिए ।

उनले विभिन्न पालिकामा एक भन्दा बढि आंकाक्षी रहेपनि एकढिक्का भएर उत्साहका साथ मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष सहित सदस्यहरुको नाम टुंगो लागेको बताए ।

महासचिव सिंहले सबै पालिकाको उम्मेदवारहरुको चयन प्रक्रिया समाप्त भएपछि उम्मेदवारको नाम औपचारीकरुपमै सार्वजनिक गरिने जानकारी दिए । उनले मधेस प्रदेशको एक महानगर, तीन उपमहानगर र पालिकाहरुको सर्वसम्मतरुपमै टुंगो लागेको समेत बताए ।

सिंहले मधेस प्रदेश, प्रदेश नम्बर १, लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही पालिकामा जनमत पार्टीको तर्फबाट उम्मेदवार उठाइने जानकारी दिए ।

महासचिव सिंहले जनमत पार्टीले अन्य कुनैपनि दलसँग चुनावी तालमेल वा गठबन्धन नगर्नेसमेत स्पष्ट पारे । उनले भने, ‘गठबन्धनका घटक दलहरु भित्र अहिले असन्तुष्टी रहेकोले आफ्नो पार्टीले गठबन्धन गरेमा पार्टीलाई घाटा हुन्छ । त्यसैले हामी कसैसँग गठबन्धन वा तालमेल गर्ने योजना बनाएका छैनौं ।’

सिंहले जनमत पार्टीले स्थानीय तहको निर्वाचनमा राम्रो नतिजा ल्याउनेमा आफूहरु विश्वस्त रहेको समेत बताए ।