एजेन्सी, ५ बैशाख । एक उग्र दक्षिणपन्थी तथा आप्रवासी विरोधी समूहहरूले मुस्लिम धर्मावलम्बीहरुको पवित्र धर्मग्रन्थ कुरान जलाएको विषयमा स्वीडेनका कयौं सहरमा ४ दिनयता भड्किएको हिंसा अझै नियन्त्रणमा आएको छैन ।

स्थानीय मिडियाका अनुसार पूर्वी सहर नोर्कोपिङमा आइतबार प्रहरीले दगांकारीलाई चेताउन गरेको फायरिङमा तीन जना घाइते भए ।
स्थानीय प्रहरीले आक्रमणको धम्कीपछि चेतावनीस्वरूप गोली चलाएको र यस क्रममा तीन जना घाइते भएको बताएको छ । प्रहरी कारबाहीमा उत्रनुअघि दंगाकारीले कयौं सवारी साधनमा आगजनी गरिदिएका थिए । दंगामा संलग्न कम्तीमा १७ जनालाई पक्राउ परेका छन् ।

शनिबार, दक्षिणी सहर माल्मोमा उग्र दक्षिणपन्थीहरुले निकालेको ¥यालीको दौरान हिंसा भड्किएपछि कयौ साना सबारी साधनसहित एक बसमा आगजनी गरिएको छ । कुरान जलाउने कार्यमा संलग्न डेनिस–स्वीडिश उग्रवादी रासमुस पालुदानले आफूले इस्लामको सबैभन्दा पवित्र ग्रन्थ जलाएको र यो काम पुन दोहोर्याउने बताएका छन् ।

अति दक्षिणपन्थी समूहले बिहीबार, शुक्रबार र शनिबार कार्यक्रम आयोजना गरेका स्थानमा भड्किएको झडपमा कम्तीमा १६ प्रहरी अधिकारीसमेत घाइते भएका थिए । साथमा प्रहरी गाडीहरुमा क्षति पुगेको थियो । झडपका घटनाहरू स्टकहोमको उपनगरलगायत लिनकोपिङ र नोरकोपिङजस्ता शहरमा भएका छन् ।

शान्त मानिने मुलुक स्वीडेनमा भएको घटनाको साउदी अरब, इरान र इराकजस्ता मुस्लिम बहुल मुलुकले विरोध जनाएका छन् । इरान र इराक सरकारले तिनको आफ्नो देशका स्वीडिस राजदूतलाई बोलाएर कुरान जलाएको घटनाको विरोध जनाएका छन् ।

स्वीडेनका उग्रदक्षिणपन्थीहरुले देशमा बढ्दो मुस्लिम जनसंख्यालाई आतंकित बनाउन कुरान जलाउने गरेका छन् । यसअघि सन् २०२० मार्चमा स्ट्राम कुर्सले पनि कुरा जलाएपछि हिंसा भड्किएको थियो ।

–बीबीसीबाट