सत्तारुढ गठबन्धनको बैठक फेरि सुरु

काठमाडौं, ५ बैशाख । सत्तारुढ गठबन्धनको बैठक फेरि सुरु भएको छ ।
गठबन्धन आबद्ध दलका शीर्ष नेतासहितको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।
यसअघि आजै बिहान बसेको बैठकमा दलहरुले महानगर र उपमहानगरको भागबण्डाका विषयमा आ–आफ्नै दावी पेश गरेका थिए ।महानगर र उपमहानगरमा दलहरुले आ–आफ्नो दावी नछोडेपछि ३ घण्टा बसेको बैठक विना निष्कर्ष सकिएको थियो ।
बैठकमा विशेषगरी ६ महानगर र ११ उपमहानगरपालिकाको भागबण्डाका बारेमा छलफल भएपनि सहमति जुट्न सकस भएको हो ।
स्रोतका अनुसार नेपाली काँग्रेसले ६ वटै महानगरपालिका नछोड्ने अडान राखेको छ भने उपमहानगरको हकमा पनि ६ भन्दा बढी दावी गरेको छ । त्यसैगरी माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाले पनि एक÷एकवटा महानगर आफुलाई चाहिने अडान राखेका छन् ।
गठबन्धनको बैठकमा सहभागी एक नेताका अनुसार माओवादीले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका लिने गरी सहमति जुटाउने प्रयास हुनेछ । त्यस्तै ११ उपमहानगरमा काँग्रेसलाई ५ वटा दिएर अरु तीन दलले दुई दुई वटामा भागबण्डा हुनेगरी छलफल अघि बढेको छ ।
बैठकमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्र कार्की, माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङ, एकीकृत समाजवादीबाट माधव नेपाल, वेदुराम भुसाल, विजय पौडेल, जसपाबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र जनमोर्चाबाट हिमाल पुरी सहभागी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


