जनकपुरधाम, ४ बैशाख । जनकपुरधाममा सम्पन्न ‘जनकपुरधाम टि–२०’ प्रतियोगिताको उपाधिमाथि धनुषा रोयल क्रिकेट एकेडमीले कब्जा गरेको छ ।

जनकपुर क्रिकेट एकेडमीलाई ४९ रनले पराजित गर्दै धनुषा रोयल क्रिकेट एकेडमीले उपाधि चुम्न सफल भएको हो ।

धनुषा रोयलले दिएको १५८ रनको लक्ष्य पछ्याएको जनकपुर मात्र १०८ रनमा समेटिएको थियो । जनकपुरका लागि वीरेन्द्र सहनीले १७, राम यादवले १५ र हरिशंकर साहले १३ रन बनाउन बाहेक कुनै पनि ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् ।

धनुषा रोयलको बलिङ्गमा रुपेश यादव र नविन यादवले २/२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको धनुषा रोयल विशाल सुश्लिङ्गको ५१ रनको अर्धशतकीय पारीको सहयोगमा निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५७ रनको स्कोर खडा गरेको थियो । त्यस्तै इमरान शेखले ३३ र हिमांशु दत्तले २८ रनको योगदान गरे ।

जनकपुरको बलिङ्गमा हरिशंकर साह र सुजित मण्डलले २/२ विकेट लिएका थिए ।

जितसँगै धनुषा रोयल क्रिकेट एकेडमीलाई ५१ हजार राशीको पृुरस्कार प्रदान गरिएको छ । त्यस्तै, दोस्रो हुने टिम जनकपुर क्रिकेट एकेडमीलाई २५ हजार राशीको पुरस्कार प्रदान गरिएको प्रतियोगिताका संयोजकसमेत रहेका जिल्ला क्रिकेट संघ धनुषाका सदस्य सरोज मिश्रले बताए ।