नवौँ राष्ट्रिय खेलकुद निर्धारित समयमा हुन्छ : राखेपका सदस्यसचिव घिसिङ

काठमाडौं, ४ बैशाख । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुद निर्धारित समयमा हुने बताएका छन् ।
घिसिङकै अध्यक्षतमा सातै प्रदेशका सदस्यसचिव, तीन विभागीय टोलीका प्रतिनिधि, नेपाल ओलम्पिक कमिटीका प्रतिनिधिको उपस्थितिमा भएको नवौँ राष्ट्रिय खेलकुद समन्वय समितिको पहिलो बैठकमा सदस्यसचिव घिसिङले सो कुरा बताएका हुन् ।
नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा २२ देखि २८ जेठसम्म हुँदै छ । ‘नवौँ राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ । हुन्छ कि हुँदैन भन्ने संशय नराख्नुहोला । आ–आफ्नो स्तरबाट प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न तयारी अगाडि बढाउन आग्रह गर्छु ।’
सदस्यसचिव घिसिङले भने, ‘प्रतियोगिता र पूर्वाधारको व्यस्थापन गर्न समन्वय गर्नु आवश्यक थियो । त्यसैले पहिलोपटक बैठक बोलाइएको हो । बैठकले आगामी बोर्ड बैठकका लागि एजेन्डा तय गर्न पनि सहज हुन्छ ।
अन्तिम बोर्ड बैठक २०७५ सालमा बसेको थियो । त्यसपछि बोर्ड बैठक बस्न सकेको छैन । मेरो नियुक्तिको अवधि चार महिना बढी भए पनि मुद्दाका कारण काम गरेको एक महिना पनि भएको छैन । समन्वय समितिको बैठक आज बस्यो । अब बोर्ड बैठक पनि चाँडै बस्छ ।’
सदस्यसचिव घिसिङले नवौँ राष्ट्रिय खेलकुदका लागि बजेट निर्माण कमिटी र निर्देशिका तयार गर्ने कमिटी पनि गठन भइसकेको जानकारी गराउँदै बैठकको मुख्य उद्देश्य नवौँ राष्ट्रिय खेलकुद नै भएको बताए । उनले खेलाडीको नगद पुरस्कार, कीर्तिमानधारीको नगद पुरस्कार, खेलाडीको भत्ता वृद्धि गर्ने विषयमा पनि पहल भइरहेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


