सर्लाही, ३ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई मधेसका ठेकेदार ठान्नेहरूबाट मधेस मुक्त भएको बताएका छन् ।

शनिबार सर्लाहीको मलंगवामा एमाले जिल्ला कमिटीले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अब आफूलाई कसैले मधेसको ठेकेदार नठान्न चेतावनी दिए ।

विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै ओलीले मधेसका नागरिकलाई मधेसको ठेकेदार ठान्नेहरूले नै शोषण गरेको दाबी गरे ।

०४६ सालको आन्दोलनपछि ०४७ साल वैशाखमा सर्लाही सदरमुकाम मलंगवा आएको स्मरण गर्दै उनले ३२ वर्षपछि आउने अवसर जुरेको भन्दै खुसी व्यक्त गरे ।

मधेसको जनताको आर्थिक, सामाजिक तथा समग्र विकासका लागि आफ्नै कार्यकालमा एमाले सरकारले ठूला योजना अघिसारेको उनले दाबी गरे ।

एमाले सरकारले कुरा नभई काम गरेर देखाउने गरेको ओलीले बताए । २२ वर्ष पहिला आफ्नो सरकारले ल्याएको हुलाकी सडकको अवधारणाले मधेसको विकासले काँचुली फेरेको ओलीले बताए ।

जनकपुरबाट ढल व्यवस्थापन सुरु गरेको बताउँदै मधेसका सबै ठाउँमा ढल र पानीको सुविधा पुर्याउने उनले बताए । आफ्नै सरकारले सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको उनको जिकिर छ । यसलाई एमालेको सरकारले बढाउँदै लैजाने उनले बताए ।

उनले मधेसका नेकपा एमालेप्रति जनताको आकर्षण बढेको बताउँदै यसपटक चुनावमा अत्यधिक बहुमतसहित विजयी हुने ठोकुवा गरे ।