काठमाडौं, ३ बैशाख । प्रो क्लब च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली रूपन्देही–११ ले उचालेको छ ।

रूपन्देहीले आज सम्पन्न फाइनल खेलमा मलेसिया–११ लाई सात विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

१४१ रनको लक्ष्य रूपन्देहीले १९ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि प्रज्वल थापाले ७१ रनको उत्कृष्ट पारी खेले ।

१७.१ ओभरमा मोहम्मद वाफिकले विकेटकिपर अमर जुहदी हजलानबाट क्याच गराउनुअघि प्रज्वलले ६१ बलको सामना गर्दै आठ चौका र दुई छक्का प्रहार गरे ।

सन्दीप रजालीले ४१ र देव खनालले १२ रन जोडे । दोस्रो विकेटका लागि प्रज्वल र सन्दीपले ११२ रनको शतकीय साझेदारी गरेका थिए ।मलेसियाका लागि शार्विन मुनिएन्डी, मोहम्मद वाफिक र सैयद अजिजले एक–एक विकेट हात पारे ।

यसअघि भैरहवाको सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेरे ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो ।

मलेसियाका लागि नजरिल रहमानले सर्वाधिक ३६ रनको योगदान दिए । उनले २२ बलमा चार चौका र दुई छक्का प्रहार गरे ।

अहमद जुबैदी जुल्किफ्लेले २६ र सैयद अजिजले २० रन बनाउँदा मोहम्मद अमिर १८ रनमा अविजित रहे ।

रूपन्देहीका लागि बसिर अहमदले दुई तथा कृष्ण कार्की, विक्रम भुसाल, रूपेश कुर्मी र विशाल विक्रम केसीले एक–एक विकेट हात पारे ।

मलेसियाले उत्तर प्रदेश–११ तथा रूपन्देहीले विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको थिए ।

जोहरा इन्टरनेश्नल प्रालिले अस्ट्रेलियन महान क्रिकेटर शेन वार्नको सम्झनामा आयोजना गरेको प्रतियोगितामा ४ विदेशीसहित ८ टोलीको सहभागिता थियो ।