नेपाल बलिया टोलीसँग खेल्न तयार छ : राष्ट्रिय फुटबल टोली

काठमाडौं, ३ बैशाख । राष्ट्रिय फुटबल टोलीका खेलाडीले नेपाल बलिया टोलीसँग खेल्न तयार रहेको बताएका छन् ।
उनीहरूले एएफसी एसियन कप छनोटको तेस्रो चरणका लागि सुरु भएको प्रशिक्षणपछि शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै यस्तो कुरा बताएका हुन् ।
खेलाडीहरूले नेपालको विपक्षी बलिया भए पनि टोलीले शतप्रतिशत प्रदर्शन गर्ने बताए । छनोटको समूह ‘ए’ मा रहेको नेपालले जोर्डन, कुवेत र इन्डोनेसियाको सामना गर्नेछ ।
तीनै टोली फिफा वरीयतामा नेपालभन्दा माथि छन् । छनोटको सबै खेल कुवेतमा हुनेछन् ।
छनोटको पहिलो खेल नेपालले ८ जुनमा जोर्डनविरुद्ध, दोस्रो खेल ११ जुनमा कुवेतविरुद्ध र तेस्रो खेल १४ जुनमा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।
‘सहज त छैन तर हाम्रो मनमा भने छनोट हुन्छौं नै भन्ने छ’,राष्ट्रिय टोलीका मिडफिल्डर सुजल श्रेष्ठले भने, ‘मैदानमा उत्रिइसकेपछि जित निकाल्दै देशको शिर उच्च राखौं भन्ने नै हुन्छ । हामी आफ्नोतर्फबाट शतप्रतिशत दिने प्रयास गर्ने छौं ।’
उनले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको अभिव्यक्तिले खेलाडीलाई कुनै मानसिक दबाब नपरेको बताए ।
उनले भने, ‘हिजो प्रशिक्षकले नेपाल एसिया कपमा छनोट हुन सक्दैन भन्नु भएको रहेछ, मैले मिडियाबाट थाहा पाएँ । एक हिसाबले उहाँको कुरा पनि ठिकै होला । तर यसले हामीलाई कुनै मानसिक दबाब परेको छैन । ग्रुपमा यो कुरा उठेको पनि छैन । अभ्यास राम्रोसँग चलिरहेको छ । आशा छ, नतिजा पनि राम्रो आउला ।’
‘हामीले बलियो प्रतिस्पर्धी पाएको छौं । अहिले हाम्रो ध्यान टोलीलाई कसरी मजबुत बनाउन सकिन्छ भन्नेमै छ’, श्रेष्ठले थपे । डिफेन्डर रोहित चन्दले टोलीको लक्ष्य एसियन कप छनोट रहेको बताए ।
‘हिजोबाट अभ्यास सुरु भएको छ । अहिले हाम्रो लक्ष्य भनेको एसियन कप छनोट नै हो’, डिफेन्डर चन्दले भने, ‘हामी कसरी बलिया टोलीसँग लड्ने भन्ने योजना बनाइरहेको छौं । हाम्रो सम्भावना निकै कम छ तर आफूले सकेको प्रयास गर्ने छौं । आशा छ नतिजा पनि राम्रौ आउनेछ ।’
लामो समयदेखि इन्डोनेसियामा व्यावसायिक फुटबल खेलिरहेका रोहित आफूलाई उनीहरूको खेल्ने तरिकाबारे जानकारी रहेको बताए ।
उनले भने, ‘म लामो समयदेखि उता खेलिरहेको छु, त्यसैले मलाई उनीहरूको बारेका धेरै कुरा थाहा छ । प्रशिक्षकले आफ्नो योजना बनाउनु भएको छ । मैले पनि आफूले जानेको बताइरहेको छु । यसले टोलीलाई फाइदा नै गर्छजस्तो लाग्छ ।’
अर्का डिफेन्डर अनन्त तामाङ चुनौती भए पनि त्यसका लागि तयार भएको बताउँछन् ।
‘हाम्रो विपक्षी हामीभन्दा धेरै माथिल्लो स्तरका छन् । यो हाम्रा लागि चुनौती हो तर यसका लागि हामी तयार छौं’, उनले भने । यसैगरी, गोलरक्षक विशाल श्रेष्ठले एकजुट भई बलिया टोलीसँग लड्ने बताए ।
उनले भने, ‘हामी एकजुट भएर बलिया टोलीसँग लड्ने छौं । आशा छ, नतिजा पनि राम्रो आउने छ ।’
प्रशिक्षकको अभिव्यक्तिलाई लिएर गोलरक्षक श्रेष्ठ भन्छन्, ‘हामी लड्नका लागि मैदान उत्रिँदैछौं । अन्तिम साससम्म पनि लड्ने छौं ।उनीहरू हामीभन्दा बलिया टोली हुन् तर हामी आफ्नो शतप्रतिशत दिने छौं । नतिजा कस्तो आउँछ, त्यो त खेलपछि मात्र थाहा हन्छ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


