पञ्जाबको हरेक घरमा ३०० युनिट बिजुली निःशुल्क दिने आपको घोषणा

एजेन्सी, ३ बैशाख । पञ्जाबमा आम आदमी पार्टी (आप)को सरकारले हरेक घरमा ३०० युनिट बिजुली निःशुल्क दिने घोषणा गरेको छ ।
आम आदमीले शनिबार सो घोषणा गरे पनि १ जुलाईदेखि मात्र बिजुली निःशुल्क दिइने बताइएको छ ।
भगवन्त मान नेतृत्वको सरकार गठन भएको एक महिना पूरा भएको अवसरमा सर्वसाधारणलाई राहत दिन यस्तो घोषणा गरिएको हो ।
पञ्जाब सरकारले यसै घोषणातर्फ संकेत गर्दै मुख्यमन्त्री भगवन्त मानले मंगलबार राज्यका जनतालाई छिट्टै ‘खुसीको खबर’ दिने बताएका थिए ।
‘हाम्रा नेता र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसँग रमाइलो भेट भयो । छिट्टै, पञ्जाबका जनतालाई खुसीको खबर दिनेछु’, मुख्यमन्त्री मानले ट्विट गरेका थिए ।
पञ्जाब विधानसभा चुनावमा प्रत्येक घरमा ३०० युनिटसम्म निःशुल्क बिजुली उपलब्ध गराउने आम आदमी पार्टीले गरेको प्रमुख वाचामध्ये एक थियो ।
राज्यमा अतिरिक्त बिजुली उत्पादन भए पनि लामो समय बिजुली कटौती गरिएको र धेरै मानिसहरूको बिलमा पैसा बढेर आउने गरेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


