जनकपुरधाम, ३ बैशाख । नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरसमितिले स्थानीय तहको निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसले जनकपुरधाममा एक्लै चुनाव लड्ने निर्णय गरेको पार्टीको उपमहानगर समितिले जनाएको छ ।

२०७४ सालको निर्वाचनमा जनकपुरधाममा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट लालकिशोर साह २१ हजार ९०३ मत ल्याएर निर्वाचित भएका थिए । साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार मनोज साहले ११ हजार १६४ मत प्राप्त गरेका थिए ।

मेयर साह अहिले जसपामा छन् । जसपाले पुनः उनलाई नै मेयरको उम्मेदबार बनाउन लबिङ् गरिरहेको छ ।

नगर सभापतिसमेत रहेका मनोज साहले उपमहानगरको २५ वटै वडाले गठबन्धन गर्न नहुनेमा जोड् दिएको बताए । उनले कांग्रेसलाई मेयर र उपमेयर दिएमा गठबन्धन मान्ने अन्यथा नमान्ने जानकारी दिए ।

उनले भने, ‘ग्रास रुटको म्यान्डेडलाई मानेर हमी अघि बढ्छौं । नगर कार्यसमितिको पदाधिकारी बैठकले पनि एक जनाको नाम मात्रै प्रस्ताव गर्ने निर्णय गरेको छ । यस्तो अवस्थामा हामी गठबन्धन गर्दैनौं ।’

जनकपुरधाममा कांग्रेस नेता विमलेन्द्र निधि, संसदीय दलका नेता रामसरोज यादव, जिल्ला सभापति योगेन्द्र पजियार, नेता स्मृतिनारायण चौधरी, चन्द्रमोहन यादव र दिनेश प्रसैला पनि गठबन्धनको विरोधमा रहेको साहले बताए ।

पर्सा जिल्लामा पनि कांग्रेसले एक्लै चुनाव लड्ने निर्णय गरेको छ ।