जनकपुरधाम, ३ वैशाख । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धारित मितिमै निर्वाचन हुने बताएका छन् ।

निर्वाचन आयोगले शनिवार जनकपुरधाममा आयोजना गरेको मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले भने,’निर्वाचनको मिति अब धकेलियो भने मुलुक दुर्घटनामा फस्ने सम्भावना छ । त्यसैले निर्धारित मितिमै निर्वाचन हुनेमा शंका नगर्नुस ।’

अब निर्वाचनको मिति चाहेर पनि सार्न नसकिने उनले दावी गरे । उनले भने ‘ क्षेप्यास्त्र प्रक्षेपण भएपछि त्यसलाई तल माथी गर्ने प्रयास गरियो भने दुर्घटना अवश्य नै हुन्छ, त्यसैले निर्वाचन निर्धारित मिति मै हुन्छ ।’

उनले यसैवर्ष भित्र प्रदेश, प्रतिनिधि सभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने तयारी आयोगले गरिरहेको जानकारी दिए ।

यो पुरै वर्ष मुलुककालागि निर्वाचन वर्ष भएकाले सम्पूर्ण पक्षलाई सक्रिय सहभागिताका साथै सहयोगका लागिसमेत उनले आग्रह गरे ।

उनले भने, ‘स्थानीय तहको निर्वाचनलाई तलमाथि गर्ने वा अन्य कुनै तरिकाले सारिनु भनेको दुर्घटना निम्त्याउनु हो । यो लोकतन्त्रको निम्ति अत्यन्त अप्रिय विषय हुनसक्छ । त्यस कारण निर्वाचनसँग डराउनु पर्ने आवश्यकता नै छैन ।’

थपलियाले अब सरकारले निर्वाचनको मिति तय गरिसकेकोले तर्क वितर्कको आवश्यकता नरहेको बताए ।