काठमाडौं, २ बैशाख । प्रो क्लब च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा भारतको उत्तर प्रदेश–११ ले तेस्रो स्थान हासिल गरेको छ ।

उत्तर प्रदेशले शुक्रबार सम्पन्न खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३० रनले पराजित गर्दै तेस्रो स्थान हात पारेको हो ।

१४० रनको लक्ष्य पछ्याएको आर्मीले १८ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन मात्र बनाउन सक्यो । उसका लागि कुशल मल्लले सर्वाधिक ३५ रनको योगदान दिए ।

भीम सार्कीले ११ र सन्तोष कार्कीले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । उत्तर प्रदेशका लागि तेजस सिंह र विपिन चन्द्रले तीन/तीन, दिव्य सिंहले दुई तथा सन्दीप मित्तल र प्रिन्स शाहीले एक/एक विकेट हात पारे ।

यसअघि भैरहवाको सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको उत्तर प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । उत्तर प्रदेशका लागि सन्दीप मित्तलले सर्वाधिक ४३ रनको योगदान दिए । सनी सिंहले २६ र विपिन चन्द्रले अविजित ११ रन जोडे ।

आर्मीका लागि सोमपाल कामीले तीन तथा साहब आलम र सुशन भारीले दुई/दुई विकेट हात पार्दा एक विकेट रन आउटका रूपमा प्राप्त भयो । सेमिफाइनलमा उत्तर प्रदेश मलेसिया–११ तथा आर्मी रुपन्देही–११ सँग पराजित भएका थिए ।