जनकपुरधाम, २ बैशाख । जनकपुरधामस्थित विनयतारा क्यान्सर ट्रस्टले जनकपुरधाममा २०० शैय्याको विश्वस्तरीय सुविधा सम्पन्न क्यान्सर अस्पतालको शिलान्यास गरेको छ ।

विनयतारा फाउण्डेसन (अमेरिका)सँगको सहकार्यमा निर्माण गर्न लागिएको विनयतारा फाउन्डेसन क्यान्सर सेन्टर (बिटिएफसिसी) को शुक्रबार एक समारोहका बिच शिलान्यास गरिएको हो ।

करिब १ अर्ब २५ करोडको लागतमा निर्माण हुन लागेको यस अस्पतालको भवन अमेरिकाको सनफ्रान्सिस्कोस्थित फोंग एण्ड चान आर्किटेक्ट्सद्वारा डिजाइन गरिएको फाउन्डेसनका अध्यक्ष डा. विनय साहले जानकारी दिए ।

साहले क्यान्सरका अस्पतालहरू काठमाडौं र भरतपुरमा मात्रै रहेको अवस्थालाई दृष्टिगत गर्दै मधेस प्रदेशमा पनि विगत ४ वर्ष पहिला २५ शैय्याको अस्पताल सञ्चालनमा ल्याएका थिए । तर विरामीहरुको चाप दिनप्रतिदिन बढ्दै गएको र प्रत्येक एक सय व्यक्तिमा एक जनालाई क्यान्सर रोग रहने गरेको तथ्यांकलाई मध्यनजर गर्दै उनले अस्पताल सञ्चालनमा ल्याएको बताए ।

डा. साहले भने,‘पहिलो चरणमा यो अस्पताल १ लाख वर्ग फुटमा सञ्चालन हुनेछ । हामी सन् २०२५ सम्ममा १०० शय्याको भवन निर्माण गरिसक्नेछौँ ।’ यो दक्षिण एसियाकै आधुनिक अस्पतालको रुपमा स्थापित हुने उनको दाबी छ । बिटिएफसिसीले प्रतिवर्ष लगभग २५ हजार बिरामीलाई सेवा दिने लक्ष्य राखेको उनले बताए ।

‘हामी क्यान्सरको उपचारमा २१औं शताब्दीको अत्याधुनिक टेक्नोलोजी प्रयोग गर्नेछौँ,’उनले भने,‘यस अस्पतालमा डाक्टर र अनुसन्धानकर्ताले उच्च गुणस्तरको क्यान्सर उपचार प्रदान त गर्ने नै छन्, त्यसको साथसाथ क्यान्सर निदानको लागि उच्च कोटीको रिसर्च सेन्टरको रूपमा पनि काम गर्नेछ ।’

विनयतारा क्यान्सर ट्रस्टका अध्यक्ष डा. योगेन्द्रप्रसाद सिंहका अनुसार यस क्षेत्रमा विश्वस्तरीय क्यान्सर सेन्टर खोल्नुले यस क्षेत्रका मानिसको स्वास्थ्य उपचारमा मात्र मद्दत गर्ने नभई आर्थिक, सामाजिक गुणस्तर र जीवनयापनमा पनि आमूल परिवर्तन ल्याउनेछ ।