जनकपुरधाम, १ बैशाख । जनकपुरधाममा जारी ‘जनकपुरधाम टि–२० क्रिकेट टुर्नामेन्ट’अन्तर्गत बिहीबार भएको क्वाटर फाइनल म्याचमा धनुषा रोयल क्रिकेट एकेडमी र रोयल जनकपुर क्रिकेट एकेडमी विजयी भएको छ ।

क्वाटर फाइनल अन्तर्गतको पहिलो म्याचमा धनुषा रोयल क्रिकेट एकेडमीले युथ ११ जनकपुरलाई ८ विकेटले पराजित गरेको छ । युथ ११ ले दिएको १३६ रनको लक्ष्य धनुषा रोयल क्रिकेट एकेडमीले १५ ओभर ३ बलमा २ विकेटको क्षतिमा पुरा गरेको थियो । धनुषा रोयलका लागि अकवर अलिले अविजित ५४ र पवन सर्राफले ३८ रनको पारी खेले ।

यसअघि ब्याटिङ्ग गरेको युथ ११ ले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३५ रनको स्कोर खडा गरेको थियो । युथ ११ का लागि अजय यादवले अविजित ५३ र शशि यादवले २३ रनको योगदान गरे ।

धनुषा रोयलको बलिङ्गमा विशाल सुशलिङ्घले ३ र सिमोन रोय तथा सानु वास्कोटाले १/१ विकेट लिन सफल भए ।

क्वाटर फाइनल अन्तर्गतको दोस्रो खेलमा जलेश्वर क्रिकेट टिमले दिएको ८२ रनको झिनो लक्ष्य रोयल जनकपुर क्रिकेट एकेडमीले १९ ओभर २ बलमा ५ विकेटको क्षतिमा पुरा गरेको थियो । रोयल जनकपुरका लागि सुयोग प्रजापति २० र रोशन पुलामी मगरले १९ रनको योगदान गरे । जलेश्वरको बलिङ्गमा राहुलप्रताप सिंहले ३, अभिशेष तिवारी र हरेकृष्ण झाले १/१ विकेट लिए ।

पहिले ब्याटिङ्ग गरेको जलेश्वरका लागि कुनै पनि ब्याट्सम्यान टिक्न नसकेपछि ८१ रनको न्युन स्कोरमा समेटिएको थियो । जलेश्वरका लागि रवि सिंहले २० र विवेक कोइरालाले १० रन बनाउनु बाहेक कुनै पनि ब्याट्सम्यान दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

जलेश्वरलाई सस्तैमा समेट्नका लागि विक्की झाले ३ विकेट, सन्दिप खडका र धीरज ठाकुरले २÷२ विकेट लिएका थिए ।