कोरोना संक्रमणका कारण नेपालमा हालसम्म २६ पत्रकारको मृत्यु

काठमाडौं, १ बैशाख । कोरोना संक्रमणका कारण हालसम्म नेपालमा २६ जना पत्रकार तथा सञ्चारकर्मीले ज्यान गुमाएका छन् ।
नेपाल पत्रकार महासंघका अनुसार २०७८ सालमा १८ जना पत्रकार तथा सञ्चारकर्मीले कोरोनाका कारण ज्यान गुमाएका थिए ।
‘कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न पत्रकार महासंघको पहलमा ९९ प्रतिशत पत्रकारले कोभिडविरुद्धको खोप लगाएका छन् । त्यसले जोखिम कम भए पनि कोभिडले पत्रकार तथा सञ्चारमाध्यममा पारेको असर भने अहिले पनि कायमै छ’, महासंघले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कोरोना महामारीको बहाना देखाएर पत्रकारलाई नियमित तलब नदिने, बेतलवी विदामा राख्ने र जागिरबाट निष्कासन गर्ने कामले निरन्तरता पाएकोमा महासंघले दुःख व्यक्त गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ११ लाख १८ हजार ७८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।
विश्वमा पहिलो पटक कोरोना भाइरस सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


