एजेन्सी, ३० चैत । युक्रेन युद्धमा अहिलेसम्म २० पत्रकार मारिएका छन् ।

२४ फेब्रुअरीदेखि सुरु भएको रुसी हमलामा अहिलेसम्म २० पत्रकार मारिएका युक्रेनको राष्ट्रिय पत्रकार संघले जनाएको छ ।

मारिने पत्रकारको सूची संघले आफ्नो टेलिग्राम च्यानलमा प्रकाशित गरेको छ ।

युक्रेनको महाअभियोजकको कार्यालयले यसको पुष्टि गरेको हो । मृत्यु हुनेमध्ये केही विदेशी सञ्चारकर्मी पनि छन् ।

युक्रेनको नागरिक समाज र विशेषगरी जिम्मेवार पत्रकारहरूको हितलाई समर्थन गर्ने स्वतन्त्र गैरसरकारी संस्था इन्स्टिच्युट अफ मास इन्फरमेसन (आइएमआई)का अनुसार रुसले युद्धको पहिलो महिनामा युक्रेनमा पत्रकार र सञ्चारमाध्यमविरुद्ध कम्तीमा १ सय ४८ अपराध गरेको थियो ।

रुसी सेनाले कम्तीमा १० ओटा टिभी टावरहरूलाई निशाना बनाएका छन् ।

टावरमा क्षति हुँदा युक्रेनको आठ क्षेत्रहरूमा टिभी र रेडियो प्रसारणमा पूर्ण वा अस्थायी रूपमा अवरोध आएको थियो ।

युद्धसम्बन्धी खतराका कारण देशभर ७० क्षेत्रीय मिडिया आउटलेटहरू बन्द छन्।