जनकपुरधाम, ३० चैत । धनुषाको हंसपुर नगरपालिकाकी उपमेयर रेणु झा जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेकी छन् ।

उपमेयर झालाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरेका हुन् ।

झा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट हंसपुरको उपमेयरमा निर्वाचित भएकी थिइन् । जसपा नेपाल विभाजन हुँदा उपमेयर झाले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल रोजेकी थिइन् ।

तत्कालिन राजपा नेपालबाटै निर्वाचित मेयर रामज्ञान मण्डलसँग उपमेयर झाको विगत लामो समयदेखि असन्तुष्टि रहँदै आएको थियो ।स्थानीय तहको निर्वाचन आउन लाग्दा समेत उनलाई लोसपाले बेवास्ता गरेपछि जसपा नेपाल रोजेको बताइएको छ ।

जसपा अध्यक्ष यादवले तत्कालिन राजपा नेपालबाट निर्वाचित जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–६ का वडाध्यक्ष जगरनाथ साहलाईसमेत पार्टीमा प्रवेश गराएका छन् ।