एमबीबीएस पढ्दै गरेका विद्यार्थी मानव अंगसहित पक्राउ

धरान, २९ चैत । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढ्दै गरेका विद्यार्थी मानव अंगसहित पक्राउ परेका छन् ।
भारत विहारको पूर्णिया जिल्ला घर भएका २६ वर्षीय आदित्य सिन्हा मानव अंगसहित पक्राउ परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति राजकुमार लामिछानेले जानकारी दिए ।
सिन्हाबाट प्रहरीले टाउको, खुट्टाको हड्डी ३ वटा, हातको हड्डी ६ वटा, करङको हड्डी ७ वटा, काँधको हड्डी २ वटा, ढाँड, औंला, कुर्कुचाको हड्डी ८–८ वटा, घाँटी, हिप र बंगाराको हड्डी १–१ वटा बरामद गरेको छ ।
प्रहरीका अनुसार उनले ती हड्डीहरू कार्टुनमा प्याक गरेर रिक्सामार्फत भारततर्फ लैजाँदै थिए । विराटनगर–१५ रानीस्थित मुख्य भन्सार नाकामा खटिएको सशस्त्र प्रहरी टोलीले जाँच गर्दा फेला पारेको हो ।
सशस्त्रले सिन्हा र बरामद गरिएका हड्डीसहित आवश्यक कारबारीका लागि नेपाल प्रहरीलाई बुझाएको छ । सिन्हाले एमबीबीएस अध्ययन पूरा हुने समय भएकाले अध्ययनका लागि यसअघि एमबीबीएस गरेका साथीहरुले दिएको मानव टाउको र हड्डी लिएर घर जाँदै गरेको प्रहरीसमक्ष बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


