जनकपुरधाम टि–२० अन्तर्गत मंगलबारको खेलमा जनकपुरधाम र युथ ११ विजयी

जनकपुरधाम, २९ चैत । जनकपुरधाममा जारी जनकपुरधाम टि–२० क्रिकेट टुर्नामेन्टअन्तर्गत आज भएको दुई अलग अलग खेलमा जनकपुरधाम क्रिकेट एकेडमी र युथ ११ जनकपुर विजयी भएको छ ।
प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो खेलमा जनकपुरधाम क्रिकेट एकेडमीले बलवा नगरपालिकालाई ६८ रनले पराजित गरेको हो । जनकपुरधामले दिएको १४३ रन पछ्याएको बलवा टिम मात्र ७४ रनमा समेटिएको थियो । बलवाका लागि कमल मण्डलले ३० र कमल रजकले १० रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।
बलवालाई सस्तै समेट्न जनकपुरधामका लागि सुजित मण्डलले घातक बलिङ्ग गर्दै ६ विकेट लिन सफल भए । रकि ठाकुरले भने ३ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ्ग गरेको जनकपुर क्रिकेट एकेडमी रामविनय यादवको ३८ र विक्रान्त यादवको ३७ रनको सहयोगमा निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४२ रनको स्कोर खडा गरेको थियो ।
बलवाको बलिङ्गमा प्रविण यादव र सौरभ सुमनले २/२ विकेट लिए ।
त्यस्तै मंगलबार नै भएको दोस्रो खेलमा युुथ ११ जनकपुरधामले लहान क्रिकेट टिमलाई ४ विकेटले पराजित गरेको छ । लहानले दिएको १०८ रनको लक्ष्य युथ ११ ले ६ विकेटको क्षतिमा १९ ओभर २ बलमा पूरा गरेको थियो ।
युथ ११ का लागि साहेव अलीले ४०, अनिकेत पटेलले २२ र ऋतिक ठाकुरले १८ रनको योगदान गरे ।
लहानको बलिङ्गमा अफुदिन राइन र कुश मण्डल २/२ विकेट लिन सफल भए ।
प्रतियोगिताअन्तर्गत बुधबारको खेल जनकपुरधाम र काठमाडौंबिच हुने आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


