स्थानीय निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरु चुनावी रणनीति तयार पार्न व्यस्त

जनकपुरधाम, २९ चैत । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरु मधेस प्रदेशमा चुनावी रणनीति तयार पार्न व्यस्त देखिएका छन् ।
सत्तारुढ गठबन्धन दल, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन केन्द्रित रणनीति तयार पार्न व्यस्त देखिएका हुन् ।
सत्तारुढ पाँच दलीय गठबन्धनको मधेस प्रदेशस्तरीय बैठकले स्थानीय तहको निर्वाचनमा स्थिति मजबुत बनाउनका लागि जिल्ला स्तरमा छलफल गर्ने निर्णय गरेको छ ।
मंगलबार महोत्तरीको बर्दिबासमा बसेको बैठकले जिल्ला स्तरीय गठबन्धनबाट पालिका तह अनुसारको छलफल गरी खाका तयार पार्ने निर्णय गरेको छ । जिल्ला स्तरमा छलफललाई तीव्रता दिन र खाका तयार पार्नका लागि गठबन्धनको बैठकबाट पर्यवेक्षक खटाउने निर्णय गरिएको हो ।
सप्तरीमा जसपाका दिनेश यादव, सिरहामा नेकपा एकीकृत समाजवादीका रामचन्द्र यादव, धनुषामा नेकपा एकीकृत समाजवादीका धर्मनाथ साह, महोत्तरीमा माओवादी केन्द्रका श्रवण यादव, सर्लाहीमा माओवादी केन्द्रकै प्रह्लाद बुढाथोकी, रौतहटमा कांग्रेसका सन्तु यादव र पर्सामा कांग्रेसका चन्द्रशेखर यादवलाई पर्यवेक्षकको रुपमा खटाइएको छ ।
यसका लागि वैशाख २ गतेसम्मको समयसीमा निर्धारण गरिएको छ । त्यस्तै वैशाख ३ र ४ गते ८ वटै जिल्लामा जिल्ला कमिटीका अध्यक्षहरुसँग बैठक बस्ने योजना रहेको नेपाली काँग्रेस मधेस प्रदेश समितिका कोषाध्यक्ष प्रदीप यादवले जानकारी दिए ।
वैशाख ३ गते धनुषा, महोत्तरी, सिरहा र सप्तरी तथा वैशाख ४ गते सर्लाही, रौतहट, बारा र पर्सामा बैठक बस्ने उनले बताए । जिल्लागत छलफल पश्चात मात्रै तालमेलको खाका तयार पारिने सत्तारुढ गठबन्धनका घटक दलहरुले जनाएका छन् ।
मधेस प्रदेशको महानगर, उपमहानगरको विषयमा निर्णय गर्ने जिम्मा केन्द्रलाई नै दिइएको नेकपा माओवादी केन्द्रको मधेस प्रदेशका सचिव योगकुमार बरबरियाले जानकारी दिए । उनले दलहरुबीच रहेको अन्तरविरोध वा बाँडफाँडको विषय अहिले स्पष्ट हुन नसकेको बताए ।
यता नेकपा एमालेले मधेस प्रदेशमा गठबन्धनको दलभित्र रहेको अन्तरविरोधको फाइदा उठाउने रणनीतिमा जुटेको छ । महोत्तरीको बर्दिबासस्थित एक होटेलमा भएको बैठकबाट सत्तारुढ गठबन्धन दलभित्र रहेका असन्तुष्ट पक्षलाई समेटेर निर्वाचन केन्द्रित गतिविधि गर्ने प्रदेश समितिका सदस्यहरुलाई निर्देशन दिइएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
मधेस प्रदेशको पूर्ण बैठक बसेर स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने नेकपा एमालेका नेता रामचन्द्र मण्डलले जानकारी दिए ।लोसपासँग गठबन्धन गर्ने विषयमा स्थानीय स्तरमा समेत वातावरण निर्माण हुन सक्ने बताए ।
बैठकमा नेकपा एमाले मधेस प्रदेशका सचिव सुमन प्याकुरेलले प्रदेश सदस्यहरुलाई निर्देशन दिँदै गठबन्धन घटक दलभित्र व्यापक असन्तुष्टीहरु रहेकाले यसलाई खेलाउन र आफूतर्फ तान्न भरपुर प्रयास गर्न निर्देशन दिए ।
यता लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पनि मधेस प्रदेश समितिको बैठक सम्पन्न भएको छ । बैठकबाट चुनाव केन्द्रित रणनीति, स्थानीय निर्वाचनका लागि आकांक्षी उम्मेदवार छनोटबारे जिल्लागत रिपोर्ट, रिपोर्टसहित आएका विभिन्न विषयहरु केन्द्रिय समितिमा पेस गर्ने र स्थानीय तहमा हुन सक्ने तालमेल वा गठबन्धन लगायतका विषयमा निर्णय भएको लोसपा मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले जानकारी दिए ।
लोसपले मेयर/उपमेयरको विषयमा निर्णय गर्ने जिम्मा केन्द्रिय कमिटीलाई दिइएको र वडाध्यक्षहरुको विषयमा जिल्ला वा प्रदेश कमिटीले निर्णय गर्ने उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


