काठमाडौं, २९ चैत । नेपाल प्रो क्लब च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफले पहिलो जित दर्ता गरेको छ ।

एपिएफले समूह ‘बी’ अन्तर्गत आज सम्पन्न खेलमा बंगलादेशको ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमीमाथि सात विकेटको जित हात पारेको हो ।

१२६ रनको लक्ष्य एपिएफले १९ ओभरमा तीन विकेट गुमाउँदै पूरा ग¥यो । उसका लागि कप्तान प्रदिप ऐरीले अर्धशतकीय पारी खेले । ५४ रनमा अविजित रहेका उनले ५८ बलमा ६ चौका प्रहार गरे ।

दीपक बोहराले ४२ र सन्दीप जोराले १० रनको योगदान दिए । ट्यालेन्ट हन्टका लागि मोहम्मद मशर्रफले एक विकेट हात पार्दा दुई विकेट रन आउटका रूपमा प्राप्त भयो ।

यसअघि भैरहवाको सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ट्यालेन्ट हन्टले निर्धारित २० ओभमा आठ विकेट गुमाउँदै १२५ रन बनाएको थियो ।

ट्यालेन्ट हन्टका लागि असदुरजमान बरेनायोले सर्वाधिक ३० रनको योगदान दिए । शरियारे रिमले २१ र राज बमले २१ रन जोडे ।

एपिएफका लागि प्रदिप ऐरी र भुवन कार्कीले दुई–दुई तथा किशोर महतोले एक विकेट हात पार्दा तीन विकेट रन आउटका रूपमा प्राप्त भयो ।

जितसँगै एपिएफले तीन खेलमा दुई अंक जोड्दा पराजित ट्यालेन्ट हन्ट अंकविहीन बन्यो ।