जनकपुरधाम, २९ चैत । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले धनुषाको थप चारवटा पालिकामा मेयर÷अध्यक्षको छनोट सिफारिस प्रक्रिया अगाडी बढाएको छ ।

लोसपाले जिल्लाको जनकपुरधाम उपमहानगरपालिका, नगराइन नगरपालिका, धनौजी गाउँपालिका र औरही गाउँपालिकामा मेयर÷अध्यक्ष पदका उम्मेदवारहरुको नाम नगर कमिटीबाट सिफारिस गर्दै जिल्ला कमिटीमा पठाएको हो ।

लोसपा नेपाल धनुषाका अध्यक्ष परमेश्वर साहले धनुषाको चारवटा पालिकाको वडा तथा पालिकास्तरीय बैठकबाट उम्मेदवारको नाम छनोट गरिएको जिल्ला कमिटीमा सिफारिस गरिएका अन्य आकांक्षी उम्मेदवारहरुको नाम आउने क्रम जारी रहेको बताए ।

लोसपाले नगराईन नगरपालिकामा मेयर पदका लागि राजु चौधरीको एकल नाम सिफारिस गरेको छ भने धनौजी गाउँपालिकाको अध्यक्ष पदका लागि जिवेन्द्र झा, औरही गाउँपालिकाको अध्यक्षका लाग प्रमोदकुमार यादवको नाम सिफारिस गरिएको उनले बताए ।

उनले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि ५ जना आकांक्षी रहेको जानकारी दिए । मधेस प्रदेशको राजधानी जनकपुरधामका लागि प्रदेश सांसद परमेश्वर साह, नगर अध्यक्ष मनोजकुमार चौधरी, संजय चौधरी, जानकीराम साह र अमर पँजियारको नाम जिल्ला कमिटीमा सिफारिस गरि पालिका कमिटी पार्टीले पठाइएको उनले बताए ।

त्यस्तै नगराईन नगरपालिका वडा नम्बर–२ को वडाध्यक्षमा काँग्रेसबाट निर्वाचित मेयर परमेश्वर यादवका ज्वाई बुलन यादवले लोसपा नेपालबाट उम्मेदवारी दिने भएका छन् । लोसपा धनुषाका जिल्ला सदस्य समेत रहेका पर्यवेक्षक रोहित चौधरीले नगराईन नगरपालिका वडा नम्बर–२ को वडाअध्यक्ष पदमा यादवको एकल नाम सिफारिस भएकाले उनको उम्मेदवारी पक्का रहेको बताए ।

यता, नेकपा एमालेले भने धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउतलाई नै पुनः दोर्होयाउने भएको छ । पालिका कमिटी बैठकबाट बटेश्वर गाउँपालिका अध्यक्ष पदमा पुनः राउतलाई नै दोर्होयाउने निर्णय गरिएको छ ।

त्यस्तै लक्ष्मीनिया गाउँपालिकाको अध्यक्ष पदका लागि एमालेले शम्भु साह, अजय यादव र दिनेश यादवको नाम सिफारिस गरेको छ ।