जनकपुरधाम, २८ चैत । जनकपुरधाममा जारी ‘जनकपुरधाम टि–२० क्रिकेट प्रतियोगिता’ अन्तर्गत सोमबार भएको अलग अलग खेलमा जलेश्वर क्रिकेट टिम र मधुवनी क्रिकेट टिम विजयी भएको छ ।

पहिलो खेलमा जलेश्वर क्रिकेट टिमले ओमकार क्रिकेट टिमलाई ८ विकेटले पराजित गरेको छ । ओमकारले दिएको ९७ रनको लक्ष्य जलेश्वरले १३ ओभर ५ बलमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको थियो । जलेश्वरका लागि हरेकृष्ण झाले ३७ र श्रवण नागवंशीले ३५ रन बनाए ।

ओमकारको बलिङ्गमा निशान्त रविले २ विकेट लिएका थिए ।

पहिले ब्याटिङ्ग गरेका ओमकारले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ९६ रन बनाएको थियो । उसका लागि रामप्रकाश र रंजित यादवले १९÷१९ रनको योगदान गरे ।

त्यस्तै, सोमबार भएको दोस्रो खेलमा मधुवनी क्रिकेट टिमले धमौरा क्रिकेट टिमलाई ६ विकेटले पराजित गरेको छ । धमौराले दिएको १३२ रनको लक्ष्य मधुवनीले ४ विकेट गुमाउँदै १७ ओभरमा पूरा गरेको थियो । मधुवनीका लागि मयंक अग्रवालले ४३ र केशव कुमारले ४२ रनको योगदान गरे ।

यसअघि ब्याटिङ्ग गरेको धमौराका लागि अतुल्य प्रियंकारले ५१ रनको अर्धशतकीय पारी खेले पनि टिमले ठूलो स्कोर खडा गर्न सकेन् ।

धमौरा टिम ९ विकेटको क्षतिमा निर्धारित २० ओभरमा १ सय ३१ रन बनाउन सफल भएको थियो ।