जनकपुरधाम, २८ चैत । मधेस प्रदेशमा सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक मंगलबार बस्न लागेको छ ।

आन्तरिक तयारीका कारण निर्धारित मितिमा नभएपनि मंगलबार बैठक बस्न लागेको हो ।

स्थानीय तहमा चुनावी गठबन्धनका लागि जनकपुरधामस्थित नेपाली काँग्रेसको प्रदेश कार्यालयमा एक साता अघि भएको बैठकबाट आ–अफ्ना दलको अवस्थाबारे रिपोर्टिङ्ग गर्ने निर्णय गर्दै चैत २७ गतेसम्मका लागि बैठक स्थगित भएको थियो ।

नेपाली काँग्रेस मधेस प्रदेशका उपाध्यक्ष वीरेन्द्रकुमार सिंहले गठबन्धनको बैठक मंगलबार विहान ८ बजेदेखि महोत्तरीको बर्दिबासमा बस्ने जानकारी दिए । उनले गठबन्धनका लागि काँग्रेस सकारात्मक रहेको भन्दै अधिकांश पालिका तथा जिल्लास्तरमा पनि गृहकार्यहरु भईरहेको बताए ।

सो बैठकबाट २२ गतेसम्ममा पालिका–जिल्ला कमिटी पार्टीसँग आ–आफ्नो संगठनको अवस्था बारे बुझेर चैत २७ गते बैठक बस्ने गरि स्थगित भएको थियो । तर गठबन्धन दलको बैठक जिल्लादेखि स्थानीय स्तरसम्म पनि हुन नसकेको छैन ।

धनुषा, महोत्तरी, सर्लाही, सिरहालगायतका जिल्लामा गठबन्धनका लागि बैठक भएपनि पर्सा, बारा र रौतहटमा भने गठबन्धनको बैठक अहिलेसम्म बस्न सकेको थिएन ।

मधेस प्रदेशमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासहित पाँच दलीय गठबन्धन छ ।