मधेस प्रदेशमा विश्वस्तरीय क्यान्सर अस्पताल खुल्दै

जनकपुरधाम, २८ चैत । जनकपुरधामस्थित विनयतारा क्यान्सर ट्रष्टले जनकपुरधाममा २०० शैयाको सुविधा सम्पन्न क्यान्सर अस्पताल बनाउन लागेको छ ।
विनयतारा फाउण्डेशन (अमेरिका) सँगको सहकार्यमा निर्माण गर्न लागिएको विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर (बिटिएफसिसि) आधुनिक अमेरिकी क्यान्सर अस्पताल जस्तै बनाएने फाउन्डेशनका अध्यक्ष डा. विनय साहले बताए ।
करिव १ अर्ब २५ करोडको लागतमा निर्माण हुन लागेको यस अस्पतालको भवन अमेरिकाको सान फ्रान्सिस्को स्थित फोंग एण्ड चान आर्किटेक्ट्सद्वारा डिजाइन गरिएको उनले जानकारी दिए ।
डा. साले भने,‘पहिलो चरणमा यो अस्पताल १ लाख वर्ग फुटमा सञ्चालन हुनेछ । हामी सन् २०२५ सम्ममा १०० शैयाको भवन निर्माण गरिसक्नेछौं ।’ यो दक्षिण एसियाकै आधुनिक अस्पतालको रुपमा स्थापित हुने उनको दाबी छ ।
बिटिएफसिसिले प्रति वर्ष लगभग २५ हजार बिरामीलाई सेवा दिने लक्ष्य राखेको उनले बताए । जनकपुरधाममा हाल बिटिएफसिसिको २५ शयाका अस्पताल सञ्चालनमा रहेको छ ।
‘हामी क्यान्सरको उपचारमा २१ औं शताब्दीको अत्याधुनिक टेक्नोलोजी प्रयोग गर्नेछौं,’उनले भने,‘यस अस्पतालमा डाक्टर र अनुसन्धानकताहरूले उच्च गुणस्तरको क्यान्सर उपचार प्रदान त गर्ने नै छन, त्यसको साथसाथ क्यान्सर निदानको लागि उच्च कोटीको रिसर्च सेन्टरको रूपमा पनि काम गर्नेछ ।’
विनयतारा क्यान्सर ट्रष्टका अध्यक्ष डा. योगेन्द्र प्रसाद सिंहका अनुसार यस क्षेत्रमा विश्वस्तरीय क्यान्सर सेन्टर खोल्नुले यस क्षेत्रका मानिसको स्वास्थ्य उपचारमा मात्र मद्दत गर्ने नभई आर्थिक, सामाजिक गुणस्तर र जीवनयापनमा पनि आमूल परिवर्तन ल्याउनेछ ।
उनले भने,‘हामी अन्तर्राष्ट्रिय स्तरको क्यान्सर उपचारलाई मधेसमा लिएर आउँदैछौं । यसलाई मधेस परिवर्तनको अभियानको रुपमा हामीले लिएका छौं । यहाँको अर्थतन्त्र मजबुत हुनेछ, मानिसहरुले रोजगारी पाउनेछन् र स्वास्थ्य सेवाका लागि मधेस बिरामीहरुको गन्तव्य स्थल हुनेछ ।’
‘विनयतारा फाउण्डेशन क्यान्सर सेन्टरको भिजन, मिसन र लक्ष्य भनेको मधेस, सिङ्गो नेपाल र छिमेकी देशका सीमावर्ती क्षेत्रका क्यान्सर रोगीका लागि अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्नु हो,’उनले भने,‘हामीलाई थाहा छ, यो अस्पताल निर्माण तथा स्थापनामा धेरै चुनौतीहरु छन् तर बिटिसी परिवार यसलाई सम्भव र शत प्रतिशत सफल बनाउनेमा प्रतिबद्ध छौं ।’
स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको क्षेत्रमा काम गरिरहेको विनयतारा क्यान्सर ट्रष्टले २०७५ साल मंसिरदेखि विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर सञ्चालनमा ल्याएको हो । बिटिएफसिसिको आफ्नो भवन निर्माण गरी यसलाई विश्वस्तरीय अस्पतालको रुपमा स्थापित गरेपछि ट्रष्टले आफ्ना अन्य योजनाहरुलाई अगाडि बढाउने उनले जानकारी दिए ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


