काठमाडौं, २८ चैत । विदेशी फिल्मको प्रदर्शनमा कडाइ गर्नुपर्ने माग गर्दै फिल्मकर्मीले चलचित्र विकास बोर्डमा ज्ञापनपत्र बुझाएका छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई भेटेर चलचित्रकर्मीको एक टोलीले ९ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

बोर्डमा ज्ञापन पत्र बुझाएको बिषयमा निर्देशक शोभित बस्नेतले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् ।

‘छिमेकीको घरमा आगो लाग्दा रमिता हेर्ने हामी । आफ्नै घरमा आगो लाग्दा पनि हेरीनै रहने हो त ?’ उनले अगाडि भनेका छन् ‘आज नेपाल चलचित्र विकास बोर्डमा हामी चलचित्रकर्मीले चलचित्र सम्बन्धि अति आवश्यक मागहरु सहित ज्ञापनपत्र बुझाएका छौ ।’

ज्ञापनपत्रमा फिल्म विधेयक २०७७ लाई संसदबाट अनुमोदन गरिनुपर्ने, चलचित्र विकास बोर्डलाई स्वायत्त बनाइनुपर्ने, राष्ट्रिय चलचित्र नीति २०७१ कार्यन्वयन गरिनुपर्ने, विदेशी फिल्मलाई नेपालमा प्रदर्शन कडाई गरिनुपर्नेलगायत माग रहेका छन् ।

कलाकर्मीको टोलीमा निर्देशक शोभित बस्नेत, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, निर्माता उदय सुब्बा लगायत रहेका थिए ।

सोही अवसरमा विदेशी फिल्मले नेपाली फिल्मलाई बिस्तापित गर्न लाग्यो भन्दै विदेशी फिल्म प्रदर्शनमा कडाइ गर्न बोर्ड अध्यक्षलाई अनुरोध समेत गरिएको थियो ।