एजेन्सी, २८ चैत । अन्ततः निर्देशक राजकुमार हिरानी र अभिनेता शाहरुख खानको प्रोजेक्ट सुरु हुने भएको छ ।

भारतीय मिडियाले फिल्मको छायांकन १५ अप्रिलबाट सुरु हुने जनाएका छन् ।

इमिग्रेसनको विषयवस्तुमा केन्द्रित फिल्मको पहिलो सेड्युल ४० दिनको राखिएको छ ।

शाहरुखले हालै ‘पठान’ को छायांकन सकाएका छन् । अब उनले हिरानीको फिल्म सुरु गर्नेछन् ।

पन्जाबको सेटअपमा छायांकन हुने फिल्मका लागि मुम्बईस्थित फिल्म सिटीमा भव्य सेट तयार गरिएको छ ।

सोसल कमेडी फिल्मका लागि शाहरुख तयार भएका छन् ।

केही समययता फिल्ममा सफलता हात पार्न नसकेका शाहरुखलाई हिरानी निर्देशित फिल्म गर्न उनका फ्यानहरूले समेत सामाजिक सञ्जालमा आग्रह गर्ने गरेका छन्।

शाहरुख पछिल्लो समय आफ्नो पठान लुक्सका कारण चर्चामा छन् ।

पछिल्लो फिल्म ‘जिरो’ को असफलतापश्चात् उनले फिल्मबाट केही समय ब्रेक लिएका थिए ।

यद्यपि अब उनी ‘ब्याक टु ब्याक’ काममा व्यस्त भइरहेका छन् ।