एजेन्सी, २८ चैत । पाकिस्तानमा इमरान खानको पार्टी तेहरिक–इ–इन्साफ पार्टीले देशव्यापी रूपमा विरोध गर्ने निर्णय गरेको छ ।

संसदमा अविश्वासको प्रस्तावमार्फत प्रधानमन्त्री इमरान खानलाई सत्ताच्युत गरेको र पाकिस्तान मुस्लिम लिग–एनका अध्यक्षको नेतृत्वमा नयाँ प्रधानमन्त्री नियुक्ति पक्रिया सुरु गरेकाले विरोध गर्न निर्णय गरेको हो ।

‘हामीले बुधवारदेखि पेशावरबाट राष्ट्रव्यापी अभियान सुरु गर्दैछौं’, पिटिआई नेता र पाकिस्तानका पूर्वसूचनामन्त्री फवाद चौधरीले भने ।

निवर्तमान प्रधानमन्त्री खानले बुधबार पेसावरमा जनसभालाई सम्बोधन गर्ने उनले जानकारी दिए ।

अविश्वासको प्रस्तावमार्फत् इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाएको विरोधमा पिटिआईका समर्थकहरूले संयुक्त अरब इमिरेट्सको दुबईमा आइतबार विरोध प्रदर्शन गरेका थिए ।