एजेन्सी, २८ चैत । युक्रेन हमलामा रुसले १९ हजार ५ सय रुसी सेना गुमाएको युक्रेनले दाबी गरेको छ ।

२४ फेब्रुअरीदेखि सुरु भएको हमलामा ठूलो संख्यामा रुसी सेना मारिएको युक्रेनको सेनाले दाबी गरेको हो ।

रुसले ७२५ ट्यांक, १९२३ बख्तरबन्द, १५४ विमान र १३७ हेलिकप्टर गुमाएको सशस्त्र बलका जनरल स्टाफले सामाजिक सञ्जालमार्फत् जानकारी दिए ।

यसअघि अमेरिकी नेतृत्वको सैन्य संगठन नेटोले युक्रेनमा रुसले १५ हजार सैनिक गुमाएको दाबी गरेको थियो ।

त्यस्तै, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा १७९३ सर्वसाधारण मारिएको र २४३९ जना घाइते भएको बताएका छन् ।यसैबीच, राष्ट्रपति जेलेन्स्कीले रुसले अर्को आक्रमणका लागि दशौँ हजार सैनिकहरू केन्द्रित गरिरहेको बताएका छन् ।

रुसले अब युक्रेनको पूर्वी क्षेत्रमा आफ्नो आक्रमण केन्द्रित गरिरहेको सैन्य विश्लेषकहरूको भनाइ छ । रुसले पनि युक्रेनका प्रमुख सहरहरुबाट आफ्ना सेना फिर्ता गरेको छ ।

मुख्य सहरबाट सेना फर्किरहेका बेला त्यहाँ ठूलो संख्यामा सर्वसाधारण मारिएका विवरण सार्वजनिक भएका छन् ।

एक साताअघि बुचा सहरमा पाशविक ढंगले मारिएका सर्वासाधारणहरूको शव सार्वजनिक भएको थियो । तर, ती हत्यामा आफ्नो संलग्नता नरहेको रुसी सेनाले दाबी गर्दै आएको छ ।