काठमाडौं, २८ चैत । नेपाल प्रो क्लब च्याम्पिनसिप क्रिकेट प्रतियोगितमा विभागीय टोली नेपाल एपिएफ क्लबले लगातार दोस्रो हार बेहोरेको छ । एपिएफ समूह ‘बी’ अन्तर्गत आज सम्पन्न खेलमा उत्तर प्रेदश–११ सँग सात विकेटले पराजित भएको हो ।

७७ रनको लक्ष्य उत्तर प्रदेशले १३.२ ओभरमा तीन विकेट गुमाउँदै पूरा ग¥यो । उसका लागि राज यादवले अविजित २९ रनको योगदान दिए । विवेक सिंहले २२ र राहुल कुमारले १६ रन जोडे । एपिएफका लागि नन्दन यादव र अमरसिंह रौटेलाले एक/एक विकेट हात पर्दा एक विकेट रन आउटको रूपमा प्राप्त भयो ।

यसअघि भैरहवाको सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको एपिएफले १७.१ ओभरमा सबै विकेट गुमाउँदै ७६ रन बनाएको थियो ।एपिएफका लागि अमरसिंह रौटेलाले २१, सुमित महर्जनले १६ र पूर्ण विकले १२ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

उत्तर प्रदेशका लागि प्रिन्स शाहीले चार, विपिन चन्द्रले २ तथा सन्दीप मित्तल, दिव्य सिंह र नितिन रामले एक÷एक विकेट हात पार्दा एक विकेट रन आउटका रूपमा प्राप्त भयो ।

जितसँगै दुई खेलमा चार अंक जोडेको उत्तर प्रदेशले सेमिफाइनलमा स्थान पक्का गर्दा पराजित एपिएफ भने समूह चरणबाटै बाहिरिएको छ । यो समूहबाट आर्मी पनि सेमिफाइनल प्रवेश ग¥यो ।

पहिलो खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग ५१ को हार बेहोर्दा उत्तर प्रदेशले ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमीमाथि ८ विकेटको जित हात पारेको थियो ।