एजेन्सी, २७ चैत । बलिउडमा अजय देवगन र रोहित शेट्टी मिल्ने मित्र हुन् । बाल्यकालदेखि नै अजयको कम्पनीसँग जोडिएका रोहितलाई निर्देशनमा ल्याउने श्रेय अजयलाई नै जान्छ ।

रोहितको संघर्षको समयमा अजयले फिल्ममा लगानीसँगै अभिनय गरेर उनलाई साथ दिएका थिए ।

उनीहरू असल मित्र मात्र हैनन्, एक अर्कालाई उत्तिकै सम्मान र इज्जत पनि गर्छन् ।

अजय देवगन फिल्म्सको आफूलाई एक सदस्य बताउने रोहित पछिल्लो समयका राम्रा निर्देशक हुन् ।

सानैदेखि मित्र रहेका अजय र रोहितले संघर्षका दिनहरूसँगै बिताएका छन् । यिनै रोहितले अजय सदैव निर्देशक बन्न चाहेको बताएका छन् ।

अजय निर्देशित ‘रन वे ३४’ को एक कार्यक्रममा बोल्दै रोहितले अजयको बारेमा केही खुलासा गरेका छन् ।

उनले भने, ‘अजय पहिलादेखि नै निर्देशक बन्न चाहन्थे र हामीले उहाँबाट धेरै काम सिकेका छौं । तर, उनले अभिनेताको रूपमा आफूलाई अगाडि ल्याए र अहिले निर्देशनमा पनि अगाडि आउँदैछन् । उनी हाम्रो बलिउडको राम्रो टेक्निसियन हुन् ।’

उनले अजयले फिल्मको प्राविधिक पक्षमा आएको परिवर्तनलाई सिक्दै अगाडि बढेको बताए ।

अजयले फिल्मको सब्जेक्टले तानेकाले निर्देशन गरेको बताए ।

फिल्ममा अजयसँगै अमिताभ बच्चन, राकुलप्रीत सिंह, क्यारीमिनाटी, बोमन इरानीलगायतका कलाकारहरूको अभिनय छ ।

सन् २०१५ मा जेट एयरवेजको दोहा–कोच्ची उडानका क्रममा भएको घटना प्रस्तुत गरिएको फिल्म ‘रन वे ३४’ इमोसनल र हाई ओक्टेन थ्रिलर फिल्म हो ।