जनकपुरधाम, २७ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनुषाको नगराइन नगरपालिकाको मेयर पदमा देवचन्द्र झा (सोभित)ले आफ्नो दाबी गरेका छन् ।

झाले नेपाली कांग्रेसबाट यसपटक मेयरमा आफू उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

उनले भने,‘यसपटकको चुनावमा मैले उम्मेदवारी दिने मुड बनाएको छु । यसमा सबैले मलाई सघाउनुपर्छ ।’

झाले निर्वाचनको लागि आन्तरिक तयारी तीव्र पारेको बताए । ‘नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र रामसरोज यादवको पक्षधर उम्मेदवार देवचन्द्रले भने,‘सबैको साथ र सहयोगको हिसाबले मैले मेयर पदमा चुनाव लड्ने तयारी गरिरहेको छु ।’

उनले भ्रष्टाचारलाई जरैदेखि समाप्त पार्नका निमित्त पनि आफ्नो उम्मेदवारी रहेको बताए । ‘मलाई नगराइन नगरपालिकाको मेयर पदको लागी अगाड़ी बढाइयो भने म तयार छु,‘उनले भने,‘मलाई मौका मिल्नु पर्छ ।’

को हुन् देवचन्द्र झा ?

नेपाली राजनीतिमा आफ्नो जीवनको ६० वर्ष बिताएका व्यक्ति हुन् देवचन्द्र झा । ६० वर्ष अगाडि आफ्नो जागिर, सम्पत्ती सबै छोडेर परिवर्तनका निमित्त अहम भूमिका निर्वाह गरेका झाले आजसम्म कुनै लाभको पद पाएका छैनन् ।

न त जिल्ला, न प्रदेश र न संघमा नै कुनै पनि ठाउँमा कुनै पनि पदको आकांक्षा उनले देखाएका छैनन् । उनी केवल आफ्नो गाउँ, नगर र जनताको सेवा गरिरहेका छन् ।

नगराईन नगरपालिकामा त्याग, संघर्ष र अरुको लागि मात्र बाच्ने प्रेणनाका स्रोत हुन देवचन्द्र झा ।

उनले नगराइन नगरपालिकालाई नयाँ समृद्ध नगर बनाउने आफ्नो सपना रहेको सुनाए । ‘म कार्यकारी भूमिकामा नभए पनि नगरपालिकाको विकास तथा जनताको सेवाका लागि भूमिका खेलेकै छु । अब भने मेयर बनेर अझ बढी काम गर्ने चाहना छ,’ उनले भने, ‘हालका मेयरको अगुवाईमा भएका राम्रा कामलाई निरन्तरता दिने र अधुरा कामलाई पूरा गर्न चाहन्छु ।’

शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने, पर्यटन, सड़क, स्वच्छता, स्वास्थ्य र कृषि जस्तो क्षेत्रमा काम गर्ने र रोजगारीको सिर्जना गर्नेलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई अझै बढी आकर्षक बनाउन सकिने उनले बताए ।