जनकपुरधाम, २६ चैत । जनकपुरधाममा शनिबारदेखि सुरु भएको जनकपुरधाम टि–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा परिवार–११ क्रिकेट क्लब विजयी भएको छ ।

लखौरी क्रिकेट टिमले दिएको ६८ रनको झिनो लक्ष्य परिवार–११ ले मात्र २ विकेटको क्षतिमा पूरा गर्दै विजयी भएको हो ।

६८ रनको लक्ष्य पछ्याएको परिवार–११ ले ११ ओभर ३ बलमा मात्र २ विकेटको क्षतिमा विजयी लक्ष्य पूरा गरेको थियो । परिवारका लागि राहुल शर्माले ३१ र विभाष यादवले १६ रन बनाएका थिए ।

लखौरीको बलिङ्गमा सुरेश मण्डल र उमेश मण्डलले १/१ विकेट लिएका थिए ।

यसअघि ब्ययाटिङ्ग गरेको लखौरी टिमका लागि कुनै पनि ब्याट्सम्यान क्रिजमा जमेर ब्याटिङ्ग गर्न नसकेपछि १६ ओभर २ बलमा मात्र ६७ रनमा समेटिएको थियो ।

लखौरीको ब्याटिङ्गमा अभिनाष ठाकुरले १७ र रघुनाथ मण्डलले १० रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरा अंकको स्कोरसम्म पुग्न सकेका थिएनन् ।

लखौरीलाई सस्तैमा समेट्न परिवारको बलिङ्गमा राहुल शर्माले सर्वाधिक ४ विकेट लिएका थिए भने सुनिल यादवले ३ र राजिव यादवले २ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत आइतबारको पहिलो खेल बगेवा क्रिकेट टीम र रोयल जनकपुर तथा दोस्रो खेल एफसीसी क्रिकेट क्लव र जय क्रिकेट क्लव बिच हुनेछ ।